मुख्य समाचार
४७ दिनपछि खुल्यो नुवाकोट–रसुवा जोड्ने सडक, बेत्रावतीमा बेलिब्रिज सञ्चालनमा
४७ दिनपछि खुल्यो नुवाकोट–रसुवा जोड्ने सडक, बेत्रावतीमा बेलिब्रिज सञ्चालनमा

: भोटेकोशी बाढीले नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध रहेको गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्ड आइतबारदेखि सञ्चालनमा आएको छ। बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेपछि नेपाल–चीन जोड्ने प्रमुख सडकमार्गमा आवागमन पुनः सुचारु भएको हो।

गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी नाका हुँदै भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदीमा मिसिएपछि आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती र रसुवाको उत्तरगया गाउँपालिका–५ जोड्ने फलाखु खोलामाथिका दुईवटा पक्की पुल बगाएको थियो। पुल बगाएपछि उक्त सडकखण्ड अवरुद्ध हुँदा यात्रु आवागमन र खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको थियो।

वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि कच्ची सडक र प्रभावकारी आवागमनको अभावमा समस्या थियो। सडक पुनः सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारले पुल निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सेनाका प्राविधिकहरूले बेलिब्रिज निर्माण गरेका हुन्।

सेनाले असोज २० गतेदेखि निर्माण सुरु गरेको ७३ दशमलव २ मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको एक्रो बेलिब्रिज आइतबार सम्पन्न भएको हो। सडक विभाग र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको पुलको अधिकतम भारवहन क्षमता ४० टन रहेको छ।

निर्माण सम्पन्न भएपछि नेपाली सेनाका उपरथी अनुपजंग थापाले पुल गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए। त्यसपछि पुललाई आइतबारदेखि नै पूर्ण रूपमा आवागमनका लागि खुला गरिएको हो।

पुल उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी,रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेलगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।

पुल निर्माणसँगै बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनः जोडिएको र यात्रु तथा मालवाहक सवारीसाधन सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले पुल सञ्चालनमा आएसँगै खाद्यान्नलगायत विभिन्न सामग्रीको ओसारपसार सहज हुने बताए। बाढीले टुटाएको सम्बन्ध,रोकिएको यात्रा र प्रभावित जनजीवनलाई पुनः जोड्न पुलले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

स्थानीयवासी दिलकृष्ण श्रेष्ठका अनुसार पुल निर्माणमा नेपाली सेना,नेपाल सरकार, स्थानीय सरकार र सडक विभागले सहयोग गरेका थिए। बाढीले सडक तथा पुल ध्वस्त पारेपछि आवागमनमा समस्या भोगिरहेका नुवाकोट र रसुवाका नागरिकका लागि बेलिब्रिज सञ्चालनमा आउनु ठूलो राहत भएको उनले बताए।

यसअघि बाढीबाट क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी सडक मार्ग खोलिएको थियो। उक्त मार्ग सञ्चालनमा आएपछि बेत्रावतीमा बेलिब्रिज जडानको काम अघि बढाइएको थियो। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बाढीका कारण टुटेको नुवाकोट र रसुवाबीचको मुख्य सडक सञ्जाल पुनः जोडिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...