। आइतबारको बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति पुगेको पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसले वडा नम्बर २ मा खानेपानी आपूर्ति प्रभावित भएको छ ।
सोही गाउँपालिकामा मन्पाङ खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । जसले एक र दुई नम्बर वडामा खानेपानी प्रभावित बनेको छ ।
त्यस्तै ज्वालामुखी गाउँपालिकाको माझिमटार खानेपानी आयोजना, पिपलटार खानेपानी आयोजना, रातमाटे खानेपानी आयोजना, मजुवा खानेपानी आयोजना, बुङ्कोटघाट सिम्ले खानेपानी आयोजना र छाप तहतेरी दलित बस्ती खानेपानी आयोजनामा क्षति पुगेको छ ।
यसले विभिन्न वडामा खानेपानी आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । यता, गंगाजमुना गाउँपालिका खानेपानी आयोजनामा क्षति पुग्दा वडा नम्बर ५, ६, ७ र ८ मा खोनपानी सुविधा प्रभावित बनेको छ ।
यसबाहेक त्रिपुरासुन्दरी गाउँपालिका खानेपानी आयोजना र सिद्धलेक गाउँपालिका खानेपानी आयोजनामा समेत क्षति पुगेको छ ।