: भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा पाण्डेले सहज रुपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने बताएका हुन्। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने उनको भनाइ छ।
उनले बाहिरिने भारतीय पर्यटकहरूको तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या ज्यादै न्यून रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि अझ धेरै प्रयास गर्नुपर्ने बताए। भारतीय बहालवाला कर्मचारीका लागि बिभिन्न योजना ल्याउन उचित हुने धारणा उनको धारणा छ। नयाँ दिल्ली, वाराणसी, बेंगलोर, बम्बई लगायतका शहरहरूसँग नेपालको डाइरेक्ट कनेक्टिभिटी भएपनि कलकत्ता फ्लाइट नियमित नभएको र यसका लागि प्रयास गर्नुपर्नेमा पाण्डेको जोड छ ।
यस्तै, उनले सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउनुपर्ने, ड्रोनको प्रयोग नेपाली भूमिमा गर्ने तथा २४ सै घण्टा स्मार्ट बोर्डर कन्सेप्ट लागू गर्नुपर्नेमा जोड दिए। नेपालको राजदूतको हैसियतमा आफ्नो भूमिका , दायित्व र चिन्तन सधै नेपाल सरकारको नीति निर्देशन र प्राथमिकतामा केन्द्रीत रहने उनले बताए।