। स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको अर्को जहाजमा सवार सबै ११ भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको छ ।
भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो । निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’ माथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको थियो । उक्त जहाजमा सवार ११ भारतीय नाविकमध्ये दुई जना बेपत्ता भएका छन् ।
त्यस्तै, मार्सल आइल्यान्ड्सको झण्डा रहेको अर्को तेल ट्यांकर ‘एमटी भाल्थेरा’ माथि आक्रमण हुँदा जहाजमा आगलागी भएको थियो । उक्त जहाजमा सवार सबै ११ भारतीय नाविक सुरक्षित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
बेपत्ता नाविकको खोजी जारी
ओमानको मस्कटस्थित भारतीय दूतावासले बेपत्ता दुई नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ ।
दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ‘एमटी पेट्रो डल्फिन’को अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जानकारी दिएको छ । प्रभावित जहाजमा रहेका अन्य भारतीय नाविकलाई आवश्यक सहयोग उपलब्ध गराउने काम पनि भइरहेको दूतावासले जनाएको छ ।
जहाजमाथिको आक्रमण रोक्न भारतको आग्रह
यसैबीच भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ ।
विदेशमा कार्यरत भारतीय नाविकको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्रालयले यस्ता आक्रमणले क्षेत्रीय तनाव थप बढाउन सक्ने बताएको छ ।
मन्त्रालयले विवाद समाधानका लागि संवाद र कूटनीतिक माध्यम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ । साथै, अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री व्यापार र आवागमनको स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिँदै जहाज, नाविक तथा सर्वसाधारणका पूर्वाधारमाथिका आक्रमण तत्काल रोक्न आह्वान गरेको छ ।