। प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उनले सो कुरा बताएका हुन् ।
उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन पनि दिए । पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ थियो ।
जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेशागत सफलताका लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताए ।
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए ।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुपर्छ,’ उनले भने, ‘आफ्नो भूमिका र संस्थाको गतिलाई बुझेर नागरिकको भावनाअनुरूप काम गर्नुपर्छ ।’
उनले प्रहरी संगठनमा पूर्ण प्रतिबद्धताका साथ सहयोग र सहकार्य गर्न पनि आग्रह गरे । सूचना प्रविधिको प्रयोगबाट प्रहरीको काम छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने उनको भनाइ थियो । प्रविधिको सदुपयोगले समयमै अपराध अनुसन्धान गर्न र घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्ने उनले बताए ।
प्रधानमन्त्री शाहले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको बताए । यसका लागि प्रहरी संगठनको नेतृत्व र प्रशिक्षणको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।
सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीप्रतिको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि उनले बताए ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए । प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफलताको कामना गरे । प्रहरी सेवामा आबद्ध रहन प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे ।