: जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्ला अदालत कपिलवस्तुको फैसला कार्यान्वयन गर्ने क्रममा २०८३ असोज २१ र २२ गते उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना ज्यानसम्बन्धी कसुरका प्रतिवादी हुन्। उनलाई चार वर्ष एक महिना १३ दिन कैद सजाय तोकिएको थियो। त्यस्तै, बिगो बापतको कैद मुद्दाका अर्का प्रतिवादीलाई ६ महिना कैद सजाय तोकिएको थियो।
यसैगरी, सवारी दुर्घटनाबाट हुने कुटपिटसम्बन्धी कसुरका चार जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूविरुद्धका मुद्दा चालु अवस्थामा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।