: झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। झापा प्रहरीका अनुसार आइतबार साँझ ५ः३० बजे दमक नगरपालिका –९ बुद्ध चोकमा बा १–०१–०२५ च ४२०९ नम्बरको सुमो जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा दमक–९ निवासी ७३ वर्षीय वृद्ध माधवप्रसाद भट्टराईको रहेको प्रहरीले जनाएको छ। जीपपको ठक्करबाट घाइते वृद्ध भट्टराईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा गएराति १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, आइतबार साँझ ५ः३० बजे कमल गाउँपालिका–५ टुकुरेस्थित भित्री सडक खण्डमा प्र १–०१–००२ ह ५७९३ नम्बरको सिटी सफारीको ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु भएको छ । सफारी चालक इलाम चुलाचुली गाउँपालिका–४ निवासी ३३ वर्षीय डम्बर लिम्बूले आफ्नै छोरी ५ वर्षीया लोजिना लिम्बूलाई सोही सिटी सफारी पछाडि राखेर लैजाने क्रममा सिटीबाट लडेर सिटीको बायाँ चक्कामा परी घाइते भएकी थिइन्।
घाइते बालिकालाई उपचारको लागि खरखरे आम्दा अस्पताल दमक लगिएकोमा उपचारको क्रममा साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।