: दसैं, तिहार र छठलाई लक्षित गर्दै मोरङमा १ हजार १ सय ४० जना प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, ठगी, तस्करीदेखि सवारी दुर्घटनासम्मका जोखिम नियन्त्रण गर्न प्रहरीले जिल्लाका ३१७ भन्दा बढी स्थानमा सुरक्षा निगरानी बढाएको हो।
भारतसँग खुला सीमा जोडिएको र कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले सोमबार सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गर्दै सुरक्षा योजनाका बारेमा जानकारी दिएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार परिचालित प्रहरीमध्ये जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइमा कार्यरत १ हजार ९० जना तथा थप मद्दतका रूपमा मगाइएका ५० जना छन्। उनीहरूलाई मोबाइल गस्ती, पिकेट चेकिङ, पैदल गस्ती, क्विक रेस्पोन्स टिम (क्यूआरटी), यात्रु सहायता कक्ष र सादा पोसाकमा निगरानी गर्ने जिम्मेवारी दिइएको मिश्रले बताए।
उनले जिल्लाको अवस्था र सम्भावित जोखिमअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए। विराटनगर लगायतका व्यस्त बजार, धार्मिकस्थल, यातायात केन्द्र, बैंक तथा वित्तीय संस्था र सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखिएको डीएसपी मिश्रले जानकारी दिए । ‘सबै ठाउँको सुरक्षा समस्या एउटै खालको हुँदैन। ठाउँअनुसारका चुनौती विश्लेषण गरेर विशेष योजना बनाइएको छ,’ उनले भने।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बजार, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, मठमन्दिर, सुनचाँदी पसल, एटीएम बुथ तथा सार्वजनिकस्थलमा निगरानी बढाइएको छ। लामो समय सरकारी कार्यालय बन्द रहने भएकाले तिनको सुरक्षामा पनि विशेष प्रबन्ध गरिएको छ आपराधिक पृष्ठभूमिका व्यक्ति र शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको उनले बताए।
एसपी कटवालका अनुसार चाडपर्वमा हुन सक्ने चोरी, पाकेटमारी, लुटपाट, डकैती, ठगी र धम्कीका घटनासँगै मानव बेचबिखन, लागुऔषध तथा हातहतियारको अवैध ओसारपसार र सीमा अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको छ। नक्कली नोट तथा वैदेशिक मुद्रा ठगी, यात्रु ठगी, जुवा–तास, लंगुुरबुर्जा, पटका तथा आतिशबाजीको अवैध कारोबार र कालोबजारी रोक्नसमेत निगरानी बढाइएको जानकारी उनले दिए। दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि पनि प्रहरीले ध्यान दिएको छ।
कटवालका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने र झैझगडा गर्ने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच तीव्र पारिएको छ। राजमार्ग तथा व्यस्त सडकमा निगरानी बढाउनुका साथै दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यात्रुको सहजताका लागि सहायता कक्ष सञ्चालन गरिएको छ।
खाली घरमा चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै लामो समय बाहिर जाने परिवारलाई घर तथा आसपासका शंकास्पद गतिविधिबारे प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ। होटल, लज तथा रेस्टुरेन्टको नियमित चेकजाँच गर्नुका साथै भिडभाडमा चोरी र पाकेटमारी रोक्न तथा शंकास्पद व्यक्ति र सवारीसाधनमाथि निगरानी गर्न प्रहरी परिचालन गरिएको कटवाल बताउँछन्। ‘सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न नाकाबाट आवतजावत गर्ने शंकास्पद व्यक्ति तथा सवारीसाधनको चेकजाँच कडा पारिएको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समन्वय र सहकार्य भइरहेको छ,’ उनले भने।
महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाममा पनि प्रहरी चनाखो रहेको कटवालले बताए। आपत्कालीन अवस्थामा तत्काल घटनास्थल पुग्ने गरी प्रहरी तयारी अवस्थामा राखिएको छ भने सम्भावित दुर्घटना व्यवस्थापनका लागि एम्बुलेन्स, दमकल र अस्पतालसँग समन्वय गरिएको छ। ‘कुनै समस्या आएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छौँ। मजबुत सुरक्षा व्यवस्था कायम गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरेर काम भइरहेको छ,’ एसपी कटवालले भने।
सुरक्षा सचेतना फैलाउने, संवेदनशील स्थानमा गस्ती तथा चेकजाँच गर्ने, कानुनविपरीत गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने तथा सीसी क्यामेरामार्फत निगरानी गर्ने रणनीति अपनाइएको उनको भनाइ छ। चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासपूर्ण बनाउन नागरिकलाई पनि शंकास्पद गतिविधि वा सम्भावित अपराधका बारेमा तत्काल प्रहरीलाई जानकारी गराउन कटवलाले आग्रह गरेका छन्।