: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृतिको बहानामा घूस लिने हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ।
अध्यागमनका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भइसकेको थियो। पुनः श्रम स्वीकृति गराइदिने र यात्रा सहजीकरण गरिदिने बहानामा कर्मचारी जैशीले रावतसँग रकम असुल गरेको भन्दै फोनमार्फत अध्यागमनमा उजुरी परेको थियो। उजुरीका आधारमा अध्यागमन कार्यालयले प्रारम्भिक छानबिन गर्दा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ ट्रान्सफर भएको पाइएको छ।
विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्दा समेत जैशीले यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि गरेको स्पष्ट देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।