। श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् ।
संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् ।
उनले विशेषगरी श्रीलंकाली बौद्ध तीर्थयात्रीलाई लुम्बिनी र कपिलवस्तुमा आकर्षित गर्ने तथा जनकपुरलाई श्रीलंकाका रामायणसँग सम्बन्धित स्थलहरूसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना सुनाइन् ।
आफ्नो चारवर्षे कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत झाले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार बनाउनुपर्नेमा जोड दिइन् । ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै पर्यटन, व्यापार र लगानीमा ठोस परिणाम हासिल गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ ।
लुम्बिनीमा श्रीलंकाबाट तीर्थयात्री भित्राउने सोच
झाले आफ्नो कार्ययोजनाको पहिलो स्तम्भमा पर्यटन तथा हवाई सम्पर्क विस्तारलाई राखेकी छन् । यसअन्तर्गत लुम्बिनीमा श्रीलंकाबाट तीर्थयात्री भित्राउन सिधा वा चार्टर उडान सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उनको योजना छ । दुई देशबीच हवाई सम्पर्क सीमित हुनु र हवाई भाडा महँगो हुनु पर्यटन प्रवर्द्धनका चुनौती रहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गर्न सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने बताइन् ।
दोस्रो रणनीतिक स्तम्भमा रामायण सर्किट र सांस्कृतिक कूटनीतिलाई राखिएको छ । जनकपुरको रामायण परम्परा र श्रीलंकाका रामायणसँग सम्बन्धित स्थललाई साझा धार्मिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उनको योजना छ । त्यसका लागि संयुक्त पर्यटन प्याकेज निर्माण र दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिइने उनले बताइन् ।
तेस्रो स्तम्भमा बौद्ध सम्पदा तथा धार्मिक पर्यटनको विकासलाई समेटिएको छ । बुद्ध दर्शन र बौद्ध संस्कृतिसँग जोडिएको नेपाललाई श्रीलंकाली पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने तथा लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार बढाउने उनको योजना छ ।
चौथो स्तम्भमा व्यापार तथा लगानी प्रवर्द्धन, निजी क्षेत्रबीच सहकार्य र श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षणलाई राखिएको छ । व्यापार मञ्च, लगानी प्रवर्द्धन तथा शैक्षिक र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्धलाई परिणाममुखी बनाउने उनले बताइन् ।
समितिको बैठकमा झाले नेपाल र श्रीलंकाबीच सन् १९५७ अप्रिल १ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मैत्रीपूर्ण सम्बन्ध सुदृढ हुँदै आएको उल्लेख गरिन् । बुद्ध दर्शन, धर्म, संस्कृति र साझा सभ्यतामा आधारित सम्बन्धलाई आर्थिक तथा संस्थागत सहकार्यमा विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपाल सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय हितलाई आत्मसात गर्दै ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने नेपालको परराष्ट्र नीतिअनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
समितिका सदस्यहरूसँगको अन्तरक्रियामा झाले आफूले प्रस्तुत गरेको कार्ययोजना प्रारम्भिक खाका मात्र भएको बताइन् । सांसदहरूबाट प्राप्त सुझावका आधारमा योजनालाई थप परिष्कृत गर्दै कार्यान्वयनयोग्य बनाउने उनले स्पष्ट पारिन् ।