। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ।
सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न क्षेत्र र उद्योगमा निरन्तर अगाडि बढिरहेको बताए। उनले नेपाली समुदायले आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै क्यानबेराको सामाजिक तथा सांस्कृतिक जीवनलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।
अनलाइनखबरसँग कुरा गर्दै नेता पार्टनले दशैँ नेपाली पात्रोअनुसार सबैभन्दा महत्त्वपूर्ण तथा पवित्र चाडमध्ये एक भएको आफूले आजै थाहा पाएको बताए।
उनले दशैँ मनाउने सबै नेपाली तथा उनीहरूका परिवारलाई सुखद, सुरक्षित र आशीर्वादपूर्ण चाडको शुभकामना व्यक्त गरे।
उनले अस्ट्रेलियाको सबल पक्ष बहुसांस्कृतिक समुदाय रहेको र सधैँ बहुसांस्कृतिक समाजकै रूपमा रहनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सनातन समाज अस्ट्रेलिया क्यानबेराका अध्यक्ष सन्तोष मल्लले नेता मार्क पार्टनलाई मायाको चिनो र नेपाली ढाकाटोपी उपहार दिएका थिए।
अध्यक्ष मल्लले एसीटी विधानसभाभित्रै पहिलोपटक दशैँ–तिहार मनाइनु नेपाली समुदायको सांस्कृतिक पहिचान र सामाजिक उपस्थितिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए।
सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजनामा सम्पन्न उक्त समारोहमा बहुसांस्कृतिक समुदायका नेताहरू र स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली संस्कृति, परम्परा र अस्ट्रेलियाली समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।