: मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मोटरसाइकल र ट्याङ्करको ठक्करबाट घाइते भएका ज्येष्ठ नागरिक महिला र पुरुषको मृत्यु भएको हो।
रंगेलीकी ७३ वर्षीया महिला र बूढीगंगाका ७२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तामा मोटरसाइकलको ठक्करबाट सुलेना साहको मृत्यु भएको छ। कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई बुधबार साँझ करिब ६ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी साहलाई सुरुमा कोशी अस्पताल विराटनगर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिए पनि उनको अवस्थामा सुधार आउन सकेन। बाहिरी चोट नदेखिए पनि अवस्था थप गम्भीर बन्दै गएपछि आफन्तले बिहीबार बिहान करिब २:३० बजेतिर उनलाई अस्पतालबाट घर लगेका थिए। घर पुर्याएको केही समयपछि बिहान ४:४५ बजेतिर उनको मृत्यु भएको डीएसपी मिश्रले बताए।
साहलाई ठक्कर दिने मोटरसाइकल र त्यसका चालकको अझै पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएर मोटरसाइकल र चालकको पहिचान तथा खोजी कार्य तीव्र बनाएको छ।
त्यस्तै, कोशी लोकमार्गमा ट्याङ्करको ठक्करबाट घाइते भएका बलबहादुर थापामगरको पनि उपचारका क्रममा मृत्यु भएको छ। सुनसरीको दुहबी नगरपालिका–५ का ७२ वर्षीय थापामगरलाई मंगलबार बिहान करिब १०:५० बजेतिर बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा इन्धन बोकेको को १ ख ४५९६ नम्बरको ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर अनुहार र टाउकोमा चोट लागेका थापामगरलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ४:२५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी मिश्रले बताए।
प्रहरीले ट्याङ्कर र त्यसका चालक सुनसरीको रामधुनी नगरपालिका–९ का ३२ वर्षीय अरविन महतोलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।