: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ। आइसीसी र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ (२०८३ मंसिर ३ देखि ५) सम्म सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ।
नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा क्यानले गरेको छ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत हुने एलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।