: बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो।
विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी दिए। दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य छ।
एम्बुलेन्स पल्टिँदा एम्बुलेन्समा सवार गेरुवा गाउँपालिका–१ का ५५ वर्षीया कृष्णी थारुको छाती, दाहिने हात र ओठमा चोट लागेको छ। साइकल यात्रीको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकोमा साइकल यात्रीलाई जिल्ला अस्पताल बर्दिया र एम्बुलेन्समा सवार महिलालाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा रेफर गरिएको छ।
कैलाली जिल्लाको टीकापुर नगरपालिका-१ का ४१ वर्षीय एम्बुलेन्स चालक दीपक बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्स एकता सहकारी संस्था कैलालीको रहेको छ। एम्बुलेन्स चालकले मादक पदार्थ सेवन नगरेको प्रहरी निरीक्षक देउवाले बताएका छन्। दुर्घटना गए मध्यरातमा भएको थियो। एम्बुलेन्स प्रहरीको निगरानीमा रहेको छ।