: नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। बडादसैंको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले शपथ ग्रहण गरेका हुन्।
सभापति थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ खुवाएका हुन्। शपथ ग्रहणअघि बटुकहरूले स्वस्ति वाचन गरेका थिए।
शपथ ग्रहण समारोहमा उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैंपछि गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसको वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई.मधु आचार्य,महिला उपसभापतिमा पुष्पा भुसाल, समावेश उपसभापतिमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी महामन्त्री प्रदीप पौडेल र उदय शमशेर राणा,डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरी खतिवडा, अजयबाबु शिवाकोटी, डा. मो. फिर्दोश आलम, प्रकाश रसाइली, बहादुर सिंह लामा (तामाङ), जीवनबहादुर शाही,अजय कुमार चौरसिया,मनोज मणि आचार्य,योगेन्द्र चौधरी, आङगेलु शेर्पा विजयी भएका छन्।
नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।