: बारामा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
महागढीमाई नगरपालिका–१, हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धिरज यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकल पछाडि सवार भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव रहेका छन्। उनीहरुको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा संलग्न स्कारपियो र चालक जिल्ला रौतहटको परोहा नगरपालिका–३ का ३८ वर्षीय अरुणकुमार दुबेलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।