: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ ।
ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि नै रुसमाथिका केही प्रतिबन्ध रोक्ने निर्णय गरेका थिए । यस निर्णयसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग अमेरिकाको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
जेलेन्स्कीले आइतबार एनबीसी न्युजसँग कुरा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्ष लिनु अमेरिकाका लागि ‘ऐतिहासिक गल्ती’ हुने बताएका छन् ।
यसैबीच, रुसी प्रतिनिधि किरिल दिमित्रिएभले ट्रम्पको निर्णयलाई महत्त्वपूर्ण र ऐतिहासिक क्षणको संज्ञा दिएका छन् । उनले प्रतिबन्धले अमेरिका र विश्व बजारमा गम्भीर असर पार्न सक्ने दाबी गरेका छन् ।
ट्रम्पले जेलेन्स्कीमाथि युद्ध अन्त्य गर्न नचाहेको आरोपसमेत लगाएका छन् । उनले दुई वर्षअघि युक्रेनले अहिलेभन्दा राम्रो सम्झौता गर्न सक्ने बताएका छन् । तर, जेलेन्स्कीले भने रुसले शान्ति नचाहेको आरोप लगाउँदै आएका छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता दुई देशबीचको युद्ध जारी छ । पछिल्लो समय रुसी डिजेल आयातसम्बन्धी अमेरिकी निर्णय र युक्रेनलाई दिइँदै आएको सैन्य सहयोगबारे विवाद बढ्दा वासिङ्टन र किएभबीचको सम्बन्ध थप जटिल बनेको छ ।