: दसैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म ५ लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैं नजिकिँदै विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आ-आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ ।
प्रहरीका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये २ लाख २७ हजार ७५५ जना महिला र ३ लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैं मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ ।
विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकाहरूमा दसैंका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिइरहेको छ।