: इटालीमा हिंसात्मक प्रदर्शन गर्नेहरूले अब ५ वर्षसम्म जेल सजाय र करिब २१ लाख रुपैयाँ सम्म जरिवाना भर्नुपर्ने भएको छ।
प्रधानमन्त्री जोर्जिया मेलोनीको सरकारले मंगलबार मिलान सहरका पसलहरूमा भएको लुटपाट र आगजनीपछि सुरक्षासम्बन्धी नयाँ नियमहरू स्वीकृत गरेको हो। नयाँ नियमअनुसार नाबालिगहरूले गरेको तोडफोड तथा क्षतिपूर्ति उनीहरूका अभिभावकले भर्नुपर्नेछ। साथै, १४ वर्षभन्दा माथिका बालबालिकामाथि मुद्दा चलाउने प्रक्रियालाई पनि सहज बनाइएको छ।
सरकारले मिलानको सुरक्षा व्यवस्था कडा बनाउन यसै वर्षको अन्त्यसम्म ५०० अतिरिक्त सैनिक परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै हिंसामा ठूलो सङ्ख्यामा युवाहरूको संलग्नता हुनु दुःखद र डरलाग्दो भएको बताइन्।
उनले भनिन्, 'गत अक्टोबर १७ मा भएको प्रदर्शनमा धेरै युवाहरू भौतिक संरचना भत्काउन, चोरी गर्न र सोही कार्यको भिडियो बनाउन आएका थिए।' मेलोनीका अनुसार यस्ता हिंसात्मक भिडियो हेरेर अन्य युवाहरू प्रेरित नहोऊन् भन्नका लागि यस समस्यालाई गम्भीरताका साथ नियन्त्रण गर्न आवश्यक छ।
नयाँ नियमअनुसार प्रदर्शनका क्रममा हिंसामा संलग्न हुनुलाई छुट्टै अपराधका रूपमा वर्गीकरण गरिएको छ। यदि कुनै अभियुक्तले अनुहार ढाकेर हिंसा गर्छ वा कसैलाई चोटपटक पुर्याउँछ भने उसको सजाय बढाइनेछ।
प्रदर्शनका क्रममा पसल वा अन्य सम्पत्तिमा क्षति पुर्याउनेहरूले त्यसको भरपाई आफैँ गर्नुपर्नेछ। सरकारको यो अध्यादेशलाई स्थायी कानून बनाउन संसद्बाट ६० दिनभित्र स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नयाँ नियममा १४ वर्षभन्दा माथिका बालबालिकालाई सामान्यतया आफ्नो कामको परिणाम बुझ्न सक्षम मानिनेछ। यदि कसैले बालबालिका आफ्नो कामको परिणाम बुझ्न सक्षम थिएनन् भन्ने दाबी गर्छ भने त्यसको प्रमाण स्वयं उसैले पेस गर्नुपर्नेछ।
यसअघि नाबालिगले आफ्नो कामको सही वा गलत परिणाम बुझ्न सक्छ कि सक्दैन भन्ने निर्णय न्यायाधीशले गर्ने गर्दथे। नयाँ नियमले यो प्रक्रियामा परिवर्तन ल्याएको छ।
प्रधानमन्त्री मेलोनीले सरकारले बालगृह तथा हिरासत केन्द्रहरूको क्षमता बढाउने र नाबालिगसँग सम्बन्धित मुद्दाहरू छिटो फछ्र्यौट गर्न किशोर न्याय प्रणालीमा न्यायाधीशहरूको सङ्ख्या थपिने जानकारी दिएकी छन्। मिलानको मुख्य व्यापारिक क्षेत्रमा अक्टोबर १७ मा हिंसा भड्किएको थियो। अनुहार ढाकेका प्रदर्शनकारीहरूले प्रहरीसँग झडप गर्नुका साथै पसलहरूमा लुटपाट र आगजनी गरेका थिए। भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो।
अक्टोबर १८ मा पनि लुटपाट र हिंसा जारी रह्यो। अधिकारीहरूका अनुसार दुई दिनको अवधिमा १०० भन्दा बढी प्रहरी घाइते भएका छन्।
मिलान प्रहरीका अनुसार अक्टोबर १७ को राति करिब २,००० युवा हिंसामा संलग्न थिए। जसमा विदेशी मूलका नागरिक तथा पछि इटालीको नागरिकता लिएका युवाहरूको ठूलो सङ्ख्या थियो। हालसम्म करिब ५० जनालाई पक्राउ गरिएको छ, जसमध्ये ३० जनाभन्दा बढी नाबालिग रहेका छन्।
इटालीमा न्यून ज्याला, महँगी र कमजोर सरकारी सेवा-सुविधाको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका हुन्। दैनिक उपभोग्य वस्तुको मूल्य लगातार बढे पनि आम्दानी नबढेको र घरभाडाको समस्याले जीवन कष्टकर बनेको प्रदर्शनकारीहरूको भनाइ छ।
यसैबीच प्रदर्शनकारीहरूले आगामी अक्टोबर ३० मा देशभर हडताल गर्ने घोषणा गरेका छन्।