: नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका कारण दुःख र कठिनाइमा रहेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैलाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै गरेको स्मरण गरे।
उनले हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस् भन्ने कामना गरेका छन्। थापाले विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन र अप्ठ्यारोमा परेकाहरूको सहारा बन्नुपर्नेमा जोड दिए।
‘यस पावन पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो विजयादशमीले हामी सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्। सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना। शुभ विजयादशमी!’