: सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ ।
४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए ।
अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । त्यसबेला चाउ सिंगापुर सेनामा क्याप्टेनका रूपमा कार्यरत थिए। उनका पूर्वसाथी २६ वर्षीय ओवेन तोह वेई सोङले अनलाइनमार्फत १५ वर्षीय विद्यार्थीसँग परिचय गरी चाउसँग भेट गराएका थिए। विद्यार्थीलाई चाउको उमेर ३२ वर्ष रहेको बताइएको थियो ।
पुङ्गगोलस्थित पार्किङस्थलमा भएको भेटका क्रममा चाउले विद्यार्थीसँगको अनुचित क्रियाकलापको भिडियो बनाएका थिए । त्यसपछि पनि उनले विद्यार्थीसँग एक्लै भेटेर थप भिडियो खिचेका थिए। ती भिडियो व्यक्तिगत प्रयोजनका लागि राखेको उनले बताएका थिए ।
विद्यार्थीको व्यवहार र चाउले दिएका उपहारप्रति परिवारका सदस्यहरूले शंका व्यक्त गरेपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीमा उजुरी परेको थियो। यस घटनामा संलग्न तोहलाई पनि यसअघि १२ महिनाको जेल सजाय सुनाइएको थियो ।
सिंगापुरको रक्षा मन्त्रालयका अनुसार पक्राउ परेपछि चाउलाई सैनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो । उनी पछि नियमित सैनिक सेवाबाट बाहिरिएका छन् र अहिले सेनामा कार्यरत छैनन् ।