। पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
एकदिवसीय क्रिकेटमा उनले २२४ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ४४१ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले सात विकेटसमेत लिएका छन्।
तलतले समग्र टी–२० क्रिकेटमा २०४ खेल खेल्दै ३ हजार ९५० रन बनाएका छन्। यस क्रममा उनले एक शतक र २१ अर्धशतक प्रहार गरेका छन्। उनले टी–२० क्रिकेटमा १०४ छक्का प्रहार गर्नुका साथै ८३ विकेट पनि लिएका छन्।
प्रथम श्रेणी क्रिकेटमा समेत अनुभव बटुलेका तलतले ८४ खेलमा ४ हजार ४८१ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्।
हुसेनलाई यसअघि पहिलो संस्करणमा पनि कर्णालीले अनुबन्ध गरेको थियो । तर अन्तिम समयमा उनी नआउने भएका थिए ।
कर्णालीले यसअघि बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।