मुख्य समाचार
बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

। बाजुराको साँफे–मार्तडी सडकखण्डमा पर्ने अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

वर्षौंदेखि पहिरोको जोखिम, सडक अवरुद्ध हुने समस्या र खेतीयोग्य जमिन कटानको मार खेप्दै आएका स्थानीय बासिन्दाका लागि यो बजेटले आशा जगाएको छ ।

संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि काम सुरु गर्ने गरी उक्त बजेट विनियोजन गरेको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत आयोजना कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । रावतका अनुसार आयोजना अहिले टेन्डर प्रक्रियामा छ ।

आयोजनाको लागत अनुमान तयार गरी अन्तिम रूप दिइसकिएको भए पनि डिजाइन एकपटक पुन: जाँच गर्नुपर्ने भएकाले टेन्डर खोल्ने प्रक्रिया अघि बढ्न केही समय लाग्ने उनले बताए ।



‘अहिले टेन्डर प्रक्रियामा छ । सबैको लागत अनुमान अन्तिम गरी पेस गरिसकिएको छ । तर, डिजाइन एकपटक पुन: जाँच गर्न भनेका छौँ,’ रावतले भने, ‘त्यसका लागि तिहारपछि सम्बन्धित प्राविधिक टोलीबाट डिजाइन पुनरावलोकन गराएर आवश्यक परिमार्जनसहित टेन्डर खोल्ने प्रक्रिया अघि बढ्छ ।’

उनका अनुसार अम्कोट पहिरो नियन्त्रण तथा सडक सुधारको काम बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गरिनेछ । डिजाइनको पुन: परीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरेर निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ । रावतका अनुसार आवश्यक अनुसार बजेट थप हुनेछ ।

वर्षौंदेखि सडक अवरुद्ध, गाउँ नै पहिरोको जोखिममा

अम्कोटको पहिरो बाजुराको सडक यातायातका लागि लामो समयदेखि चुनौती बन्दै आएको छ । पहिरोका कारण सडक मात्रै जोखिममा परेको छैन, बुढीगंगा नगरपालिका–१ स्थित अम्कोट गाउँका बासिन्दासमेत असुरक्षित अवस्थामा बस्न बाध्य छन् । पहिरोले खेतीयोग्य जमिन बगाएको छ भने केही घरमा समेत क्षति पुगेको छ ।

अम्कोट क्षेत्रको भौगोलिक अवस्था निकै जोखिमपूर्ण मानिन्छ । सडकको तल्लो भागमा बूढीगंगा नदीले कटान गरिरहेको छ भने पारिपट्टि त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रमा पहिरोको जोखिम छ ।
२०७६ सालदेखि २०७९ सालसम्म वर्षायामका बेला चार महिनासम्म सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको थियो । विशेषगरी २०७७ र २०७९ सालमा वर्षायामको समयमा अम्कोट क्षेत्रमा पहिरोका कारण चार महिनासम्म यातायात सञ्चालन हुन सकेको थिएन ।

अम्कोट क्षेत्रमा एक किलोमिटरभन्दा बढी सडक पहिरोको उच्च जोखिममा छ । २०७७ भदौमा सोही क्षेत्रमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो ।

पहिरो र भूक्षयका कारण ठूलो परिमाणमा खेतीयोग्य जमिनसमेत बगाएको थियो । त्यसयता स्थानीय बासिन्दाले पहिरोको स्थायी समाधान र सुरक्षित सडक निर्माणको माग गर्दै आएका छन् ।

एकातिर बुढीगंगा नदीको कटान, अर्कोतिर पैमा पहिरो

अम्कोट क्षेत्रको भौगोलिक अवस्था निकै जोखिमपूर्ण मानिन्छ । सडकको तल्लो भागमा बूढीगंगा नदीले कटान गरिरहेको छ भने पारिपट्टि त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रमा पहिरोको जोखिम छ । नदीले तलबाट जमिन कटान गर्ने र माथिल्लो भागबाट पहिरो खस्ने समस्याले गर्दा यहाँको सडक सुरक्षित राख्न चुनौती हुँदै आएको छ । सामान्य वर्षामा पहिरो खस्ने क्रम कम भए पनि ठूलो वर्षा हुँदा सडक पुन: अवरुद्ध हुने तथा सडकको संरचनामा क्षति पुग्ने जोखिम कायमै छ ।

करिब तीन वर्षअघि अम्कोटको पहिरोको विकल्पका रूपमा माथिल्लो भागबाट वैकल्पिक सडक निर्माण गर्न थालिएको थियो । तर, पहिरो खस्ने क्रम केही कम भएपछि वैकल्पिक सडक निर्माणको काम अघि बढ्न सकेन । अहिले पुरानै सडकखण्डमा जोखिमपूर्ण अवस्थामा यातायात सञ्चालन भइरहेको छ ।

तीन अर्ब लाग्ने अनुमान, अहिले ५२ करोड बजेट

अम्कोट पहिरोको दीर्घकालीन समाधानका लागि यसअघि पनि विभिन्न प्रयास भएका थिए । २०७९ सालमा भूगर्भविद्को टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो । त्यसबेला सोही स्थानमा सडक निर्माण गरी सञ्चालनमा ल्याउन करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने सडक विभागले जनाएको थियो ।

ठूलो लागत आवश्यक पर्ने भएपछि अम्कोटको पहिरो नियन्त्रण र सडक सुधारको काम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । नगरपालिका तथा स्थानीय बासिन्दाले विभिन्न निकायमा पुगेर पटक–पटक बजेट माग गरे पनि अपेक्षित बजेट विनियोजन हुन सकेको थिएन ।

यसपटक भने ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएपछि स्थानीय बासिन्दाले पहिरो नियन्त्रण र सडक सुधार हुने अपेक्षा गरेका छन् ।

यद्यपि, उक्त बजेटबाट पहिरोको जोखिम कति हदसम्म न्यूनीकरण हुन्छ र सडकलाई कति सुरक्षित बनाउन सकिन्छ भन्ने विषय प्राविधिक डिजाइन तथा कार्यान्वयनमा निर्भर रहनेछ ।

स्थानीय बासिन्दा वसन्त थापाले लामो समयदेखि बजेट माग गर्दै आएको बताउँदै अहिले बजेट विनियोजन हुनु सकारात्मक भएको प्रतिक्रिया दिए । ‘नगरपालिका र स्थानीय बासिन्दाले पटक–पटक सडक सुधार तथा पहिरो व्यवस्थापनका लागि बजेट माग गर्दै आएका थियौँ । अहिले बजेट आएकोमा खुसी छौँ । तर, बजेट विनियोजनमा मात्रै सीमित नभई काम पनि प्रभावकारी रूपमा कार्यान्वयन होस् भन्ने हाम्रो चाहना छ,’ थापाले भने ।

बाजुरासहित हुम्ला र मुगुका बासिन्दालाई राहतको अपेक्षा

साँफे–मार्तडी सडक बाजुराको सदरमुकाम मार्तडीलाई सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो । यही सडक हुँदै जिल्लाको उत्तरी क्षेत्रका साथै हुम्ला र मुगुका बासिन्दा समेत आवतजावत गर्दै आएका छन् । त्यसैले अम्कोटको पहिरो नियन्त्रण तथा सडक सुधारलाई बाजुराको यातायात सहजतासँगै छिमेकी जिल्लाका बासिन्दाको आवागमनसँग पनि जोडेर हेरिएको छ ।

वर्षायाममा अम्कोटमा सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न र यात्रु आवतजावतमा समस्या हुँदै आएको छ । सडक जोखिमपूर्ण हुँदा दुर्घटनाको सम्भावना पनि उत्तिकै रहन्छ ।

पछिल्ला केही वर्षमा पहिरो खस्ने क्रम केही कम भए पनि अम्कोट क्षेत्रको जोखिम पूर्णरूपमा हटेको छैन । त्यसैले स्थानीय बासिन्दाले स्थायी समाधानका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग हुनुपर्ने माग गरेका छन् ।

५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन हुनु अम्कोट पहिरो नियन्त्रण तथा सडक सुधारका लागि महत्त्वपूर्ण कदम मानिएको छ । अब डिजाइन पुन: परीक्षण, टेन्डर प्रक्रिया र निर्माण कार्यलाई समयमै अघि बढाउनु सम्बन्धित निकायका लागि मुख्य चुनौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल फिंगर गेमिंग जोन क्यासिनोबाट मंगलबार राति प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा क्यनसिनोमा जुवा खेल्न गएका चार जना नेपाली ग्राहक र एक जना क्यासिनोका कर्मचारी रहेकम छन्। जिल्ला प्रहरी ...
: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा घर भएका गुप्ता नेकपा परित्याग गरी रास्वपाको सदस्यता लिएर रास्वपामा प्रवेश गरेका हुन् ।दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल नेतृत्वको कम्युनिष्ट पार्टीमा रहेर सक्रिय राजनीति गर्दै आएका गुप्ताले ...
। पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्याएका थिए । नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये ...
। इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् । साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी ...
: केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले सामूहिक रूपमा बडादसैँको टीका र जमरा लगाएका छन्। उनीहरूले एकआपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा दसैँको टीका र जमरा लगाएका हुन्। विदुर नगरपालिका–६, चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले हर्षोल्लासका साथ दसैँ मनाएको कारागार प्रशासनले जनाएको छ। कारागारमा ७ सय ३३ जना कैदीबन्दीहरू रहेको जेलर भेषबहादुर कुँवरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम