: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ ।
अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको भाषणका दुई फरक अंशलाई जोडेर प्रसारण गरिएको भन्दै उनले बीबीसीविरुद्ध मुद्दा दायर गरेका थिए ।
बीबीसीका वकिल चार्ल्स टोबिनले मुद्दाको प्रमाण सङ्कलन तथा सूचनाको आदानप्रदान गर्ने अवधि सकिन करिब दुई महिना बाँकी रहँदा पनि ट्रम्पको बयान लिन नसकिएको अदालतलाई बताएका थिए ।
यसअघि अक्टोबर १६ मा तय गरिएको बयान ट्रम्पले ‘राष्ट्रिय महत्त्वका विषय’ उल्लेख गर्दै स्थगित गरेका थिए । त्यस दिन उनी जर्जियामा मध्यावधि निर्वाचनसम्बन्धी प्रचार कार्यक्रममा सहभागी भएका थिए भने फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा चन्दा सङ्कलन कार्यक्रममा पनि पुगेका थिए ।
अमेरिकी कानुनी प्रक्रियामा शपथ लिएर दिइने यस्तो बयान अदालतबाहिर वकिलका प्रश्नको जवाफ दिँदै रेकर्ड गरिन्छ । पछि मुद्दाको सुनुवाइका क्रममा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ ।
ट्रम्पका वकिलहरूले भने बुधबार अदालतमा छुट्टै निवेदन दिँदै उनले आगामी जनवरी ११ देखि २२ सम्म बयान दिन सक्ने बताएका थिए । साथै, बीबीसीले ट्रम्पले बयान दिनबाट पन्छिरहेको आरोप लगाउनु गलत भएको उनीहरूको दाबी थियो ।
फ्लोरिडामा दायर मुद्दामा ट्रम्पले बीबीसीले आफ्नो भाषणलाई जानाजानी र भ्रामक रूपमा सम्पादन गरेको आरोप लगाएका छन् । बीबीसीले भने सम्पादनका क्रममा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको थियो । प्रसारणले ट्रम्पले हिंसात्मक गतिविधिका लागि प्रत्यक्ष आह्वान गरेको गलत अर्थ लाग्न सक्ने बीबीसीको भनाइ थियो ।
बीबीसीले उक्त वृत्तचित्र मानहानिको कानुनी मापदण्डमा नपर्ने र अमेरिकामा प्रसारण नभएको दाबी गर्दै मुद्दा खारेज गर्न अदालतसँग माग गरेको छ । यसअघि ट्रम्पका वकिलहरूले वृत्तचित्र बीबीसीको वेबसाइट, ब्रिटबक्स वा अन्य अमेरिकी प्रसारण माध्यमबाट उपलब्ध भएको प्रमाण आफूहरूसँग नभएको स्वीकार गरेका थिए ।
यसैबीच, बीबीसीले वृत्तचित्र निर्माणमा आफ्नो व्यावसायिक शाखा बीबीसी स्टुडियोको भूमिका नरहेको तर्क गरेपछि ट्रम्पले उक्त शाखाविरुद्धको मुद्दा फिर्ता लिन सहमति जनाएका थिए ।
अदालतको आदेशअनुसार ट्रम्पले डिसेम्बर ११ भित्र बयान दिनुपर्नेछ । प्रमाण सङ्कलनको अवधि थपिएमा भने समयसीमा परिवर्तन हुन सक्नेछ ।