। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ ।
हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य तैनाथीलाई औपचारिक रूपमा स्वीकृति दिएका छन् ।
बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक आक्रमण गर्ने छैनन् ।’
के–के छन् टाइफून लडाकु विमानका विशेषता ?
बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले प्रयोग गर्ने युरोफाइटर टाइफून आधुनिक बहुउद्देश्यीय लडाकु विमान हो । उच्च गति, शक्तिशाली इन्जिन, आधुनिक राडार प्रणाली र हवाई युद्धमा प्रभावकारी मानिने यो विमान हवाई सुरक्षा तथा आक्रमण दुवै प्रयोजनका लागि प्रयोग गरिन्छ ।
टाइफून युरोपेली देशहरूको सहकार्यमा विकास गरिएको लडाकु विमान हो । यसलाई बेलायतसहित जर्मनी, इटाली र स्पेनका वायुसेनाले पनि प्रयोग गर्छन् ।
उच्च गति र शक्तिशाली इन्जिन
टाइफून विमानमा दुईवटा ईजे २०० टर्बोफ्यान इन्जिन छन् । यी इन्जिनले विमानलाई तीव्र गति लिन र छिटो उचाइमा पुग्न मद्दत गर्छन् । यसको अधिकतम गति उचाइ र विमानको संस्करणअनुसार करिब म्याक २ सम्म पुग्न सक्छ । म्याक २ भनेको ध्वनिको गतिभन्दा झन्डै दोब्बर हो ।
हवाई युद्धमा प्रभावकारी
टाइफूनको डिजाइन र उन्नत उडान नियन्त्रण प्रणालीले यसलाई हवाई युद्धका क्रममा तीव्र मोड लिन र फुर्तिलो ढङ्गले उड्न सक्षम बनाउँछ । शत्रुका विमान पहिचान गर्ने, तिनलाई रोक्ने र आवश्यक परे आक्रमण गर्ने काममा यसको प्रयोग हुन्छ ।
आधुनिक राडार र सेन्सर
यस विमानमा लक्ष्य पत्ता लगाउन र पहिचान गर्न सक्ने आधुनिक राडार तथा अन्य सेन्सर प्रणाली छन् । तिनको सहायताले पाइलटले हवाई क्षेत्रमा रहेका सम्भावित खतराबारे जानकारी प्राप्त गर्न र हवाई कारबाही सञ्चालन गर्न सक्छन् ।
विभिन्न प्रकारका क्षेप्यास्त्र बोक्न सक्ने
टाइफूनले मेटिअर, एएमआरएएएम र एएसआरएएएम जस्ता हवाई लक्ष्य भेदी क्षेप्यास्त्र बोक्न सक्छ । विमानको संस्करण र मिसनअनुसार यसमा अन्य हतियार पनि जडान गर्न सकिन्छ । यसले हवाई सुरक्षाका साथै जमिनमा रहेका लक्ष्यविरुद्ध समेत कारबाही गर्न सक्छ ।
लामो दूरीको अभियानमा उपयोगी
टाइफूनले अर्को इन्धनवाहक विमानबाट आकाशमै इन्धन भर्न सक्छ । यस सुविधाले लामो दूरीको अभियान सञ्चालन गर्न र हवाई क्षेत्रमा लामो समयसम्म सक्रिय रहन सहयोग गर्छ ।
सन् २०१५ देखि साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथीविरुद्ध सैन्य गठबन्धनको नेतृत्व गरेको थियो। त्यसैले हुथीले साउदी अरबलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेर्छन् ।
साउदी अरबमा टाइफून विमान तैनाथ गर्दा हवाई निगरानी, शत्रुका विमान रोक्ने तथा क्षेप्यास्त्र र ड्रोनबाट उत्पन्न हवाई खतराको प्रतिकार गर्ने क्षमता बढाउन सकिन्छ । यद्यपि, ड्रोन वा क्षेप्यास्त्र रोक्ने वास्तविक क्षमता तिनको प्रकार, उपलब्ध हतियार, राडारको सूचना र अन्य हवाई प्रतिरक्षा प्रणालीसँगको समन्वयमा निर्भर हुन्छ ।
टाइफूनको प्रमुख विशेषता यसको गति मात्रै होइन, आधुनिक सेन्सर, हवाई युद्धका लागि विकसित हतियार र विभिन्न प्रकारका सैन्य अभियान सञ्चालन गर्न सक्ने क्षमताको संयोजन हो ।
हुथीले साउदी अरबमाथि किन आक्रमण गरिरहेका छन् ?
हुथी विद्रोहीहरू यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका विरुद्ध गृहयुद्ध लडिरहेका छन् । यमनको यो सरकारलाई साउदी अरबले पूर्ण समर्थन गरेको छ ।
सन् २०१५ देखि साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथीविरुद्ध सैन्य गठबन्धनको नेतृत्व गरेको थियो। त्यसैले हुथीले साउदी अरबलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेर्छन् । हाल हुथीहरुले साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र लगायतका पूर्वाधारलाई निशाना बनाइरहेका छन् ।
गत सेप्टेम्बरदेखि यमनमा द्वन्द्वविरामको स्थिति टुट्दै गएपछि साउदी अरबले हुथी विद्रोहीहरूको हवाई आक्रमणबाट आफ्नो आकाशको सुरक्षा गर्न ठूलो संघर्ष गर्नुपरिरहेको छ ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हुथी विद्रोहीहरूले सन् २०१४ मा राजधानी सनाबाट सत्ताच्युत गरेका थिए । हुथी विद्रोहीहरूले यमनको आधिकारिक सरकारविरुद्ध फेरि नयाँ सैन्य अभियान थालेका छन् र रणनीतिक हिसाबले अति महत्त्वपूर्ण बाब अल–मन्देब स्ट्रेटमा प्रभावकारी नियन्त्रण हासिल गरेका छन् ।