मुख्य समाचार
फ्रान्समा आज फेरि आन्दोलनको तयारी, हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी तैनाथ
फ्रान्समा आज फेरि आन्दोलनको तयारी, हिंसा रोक्न ७० हजार सुरक्षाकर्मी तैनाथ

: फ्रान्समा गत हप्ता भएको हिंसात्मक आन्दोलनपछि आज पुनः देशभरि महँगीविरुद्ध प्रदर्शन हुने भएको छ। सम्भावित हिंसा र लुटपाट रोक्नका लागि देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीको विशेष टोली, २० वटा बख्तरबन्द (कवचयुक्त) गाडी र १५ वटा पानीको फोहरा (वाटर क्यानन) प्रहार गर्ने गाडीहरू पनि तैनाथ राखिएका छन्।

गत शनिबार ५ लाखभन्दा बढी मानिस प्रदर्शनका लागि सडकमा उत्रिएका थिए। सो क्रममा पसलहरूमा तोडफोड, लुटपाट तथा सवारी साधनहरूमा आगजनी गरिएको थियो। हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म २७ सय भन्दा बढी मानिसलाई पक्राउ गरिसकिएको छ।

परिस्थितिलाई नियन्त्रणमा राख्न धेरै सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने सर्वसाधारणलाई भेला हुन प्रतिबन्ध लगाइएको छ। सुरक्षा संवेदनशीलताका कारण पेरिसको प्रसिद्ध लुभ्र संग्रहालय बन्द गरिएको छ भने पेरिस सेन्ट-जर्मेन र लियोनबीच हुने तय भएको फुटबल म्याच पनि स्थगित गरिएको छ।




प्रारम्भमा विद्यालयहरूको दयनीय अवस्थालाई लिएर सुरु भएको यो आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सुविधामा गरिएको कटौतीविरुद्धको व्यापक प्रदर्शनमा परिणत भएको छ। उक्त प्रदर्शनका क्रममा लिमोज सहरमा रहेकाे सन् १८८३ मा निर्मित ऐतिहासिक टाउन हलमा आगजनी गरिएकाे थियाे ।

राष्ट्रपति म्याक्रोनद्वारा छात्र संगठनहरूसँग भेटघाट
राष्ट्रपति इम्यानुएल म्याक्रोनले शुक्रबार छात्र संगठनका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन्। विद्यालयहरूको भौतिक तथा शैक्षिक अवस्थालाई लिएर महिनादिनअघि आन्दोलन सुरु भएयता विद्यार्थी प्रतिनिधिहरूसँग उनको यो पहिलो प्रत्यक्ष वार्ता हो।

राष्ट्रपति म्याक्रोनले सप्ताहन्त (विकेन्ड) मा केवल मजदुर संगठनहरूलाई मात्र प्रदर्शन गर्न अनुमति दिइने बताएका थिए। तर, सरकारको यस निर्णयप्रति छात्र संगठनहरूले कडा असन्तुष्टि जनाएका छन्। फ्रान्सको प्रमुख छात्र संगठन (UNEF) ले सरकारको प्रतिबन्धका बाबजुद आजै विशाल र्‍याली निकाल्ने घोषणा गरेको छ। संगठनले म्याक्रोन प्रशासनमाथि नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार खोसेको आरोप लगाएको छ।

बढ्दो तनावका बिच राष्ट्रपति म्याक्रोनले शुक्रबार वरिष्ठ मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूसँग राष्ट्रिय रक्षा परिषद्को आकस्मिक बैठक समेत बोलाएका थिए।

धेरै सहरहरूमा कर्फ्यू र भेला हुन प्रतिबन्ध
हिंसा रोक्न पेरिसमा जारी रात्रिकालीन कर्फ्यू सोमबारसम्मका लागि थप गरिएको छ। मार्सेइ र लियोनमा शनिबार मानिसहरूलाई एकै ठाउँमा जम्मा हुन रोक लगाइनुका साथै सार्वजनिक यातायात सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ।

बोर्डो, नीस र उत्तरी फ्रान्सका थुप्रै सहरहरूमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ। केही संवेदनशिल क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीहरूलाई रातिको समयमा घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। पेरिसको प्लास द ला रिपब्लिक र लेस हाल्स जस्ता मुख्य क्षेत्रहरूमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ।

वामपन्थी दल 'फ्रान्स अनबाउड' ले सरकारद्वारा लगाइएका यी प्रतिबन्धहरूको कडा आलोचना गरेको छ। पार्टी नेता ज्यां-ल्यूक मेलेंशोंले सरकार र प्रहरीको कडा रवैयाका कारण परिस्थिति झन् बिग्रँदै गएको टिप्पणी गरेका छन्।

गत हप्ता ३ हजारभन्दा बढी पसलमा क्षति
सरकारी तथ्यांक अनुसार गत विकेन्डमा फ्रान्सभर कम्तीमा ३,००० पसलहरूमा तोडफोड तथा लुटपाट भएको छ। व्यवसायीहरूको छाता संगठनका अनुसार यसबाट करोडौँ डलर बराबरको आर्थिक नोक्सानी भएको छ।

पेरिसमा सुपरमार्केट, इलेक्ट्रोनिक्स पसल, बैंक र बहुराष्ट्रिय ब्रान्डका शोरूमहरूलाई प्रमुख निशाना बनाइएको थियो। बोर्डो सहरमा पनि व्यापक तोडफोड भएको छ। उपद्रवीहरूले गाडीहरूमा आगजनी गर्नुका साथै सडकमा ब्यारिकेड खडा गरेर बस स्टप जस्ता सार्वजनिक पूर्वाधारहरू ध्वस्त पारेका छन्। लिमोज सहरस्थित १९ औँ शताब्दीको ऐतिहासिक टाउन हल भवनमा समेत ठूलो क्षति पुगेको छ।

यसैबीच, प्रधानमन्त्री सेबास्टियन लेकोर्नूले हिंसाबाट प्रभावित भएका व्यवसायीहरूका लागि कर छुट र विशेष आर्थिक सहायता प्याकेजको घोषणा गरेका छन्।

नोभेम्बर ५ मा आम हड्तालको आह्वान
छात्र संगठन र 'येलो वेस्ट' आन्दोलनका समर्थकहरूले शनिबार पुनः प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। उता मजदुर संगठनहरूले आउँदो नोभेम्बर ५ मा देशव्यापी आम हड्तालको घोषणा गरेका छन्। यदि हिंसा पुनः भड्किएमा अन्य क्षेत्रहरूमा पनि कर्फ्यू विस्तार गर्न सकिने चेतावनी सरकारले दिएको छ।

राष्ट्रपति म्याक्रोनले हिंसात्मक घटनाका लागि कट्टरपन्थी वामपन्थी समूह र अराजक तत्वहरूलाई जिम्मेवार ठहराएका छन्। प्रधानमन्त्री सेबास्टियन लेकोर्नूले पनि केही समूहले जानीजानी प्रहरी, सरकारी भवन र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरिरहेको बताएका छन्।

यसैबीच, मुख्य विपक्षी दलकी नेत्री मरिन ले पेनले म्याक्रोन सरकार शान्तिसुरक्षा र कानुनको शासन कायम गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छिन्। देश गम्भीर संकटबाट गुज्रिरहेको र यसले फ्रान्सको लोकतन्त्रलाई नै खतरामा पारेको उनको ठहर छ।

-एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् । शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए ...
: रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको कूटनीतिक मध्यस्थतामा सम्पन्न भएको यो सहमति अक्टोबर २७ देखि लागू हुनेछ। दक्षिण युक्रेनको खेरसोन नजिकै पर्ने ओलेस्की सहरमा युद्धअघि करिब २४,००० जनसङ्ख्या रहेकोमा हाल १,७०० देखि २,००० ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान चलाउन सक्ने बताएका छन्। यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौताको सम्भावना अझै कायम रहेकोसमेत उल्लेख गरेका छन्। शुक्रबार फ्लोरिडामा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ जस्तै अभियान सञ्चालन गर्न सक्छौँ, वा उनीहरू ...
। यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ ...
: जोर्डनको अल-करक प्रान्तस्थित हमुदमा रहेको एक चर्चमा अन्त्येष्टि प्रार्थना चलिरहेका बेला बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीप्रहारमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। अज्ञात समूहले गाडीमा आएर चर्चभित्र प्रवेश गरी गोली चलाएको र घटनालगत्तै फरार भएको जोर्डनी अधिकारीहरूले जनाएका छन्। हालसम्म यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको बीबीसीले उल्लेख गरेकाे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम