: जोर्डनको अल-करक प्रान्तस्थित हमुदमा रहेको एक चर्चमा अन्त्येष्टि प्रार्थना चलिरहेका बेला बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीप्रहारमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
अज्ञात समूहले गाडीमा आएर चर्चभित्र प्रवेश गरी गोली चलाएको र घटनालगत्तै फरार भएको जोर्डनी अधिकारीहरूले जनाएका छन्। हालसम्म यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको बीबीसीले उल्लेख गरेकाे छ ।
जोर्डनका गृहमन्त्री माजेन अल-फरायाले आक्रमणकारीहरूलाई 'चरमपन्थी समूह' को संज्ञा दिँदै उनीहरूको खोजी कार्य तीव्र पारिएको बताएका छन्। यस्तै, जोर्डनका राजा अब्दुल्लाह द्वितीय बिन अल हुसैनले यस आतंकवादी हमलाका दोषीहरूविरुद्ध कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
सीसीटीभी फुटेजमा तीन जना सशस्त्र बन्दुकधारीहरू सडकबाट चर्चतर्फ जाँदै गरेको देखिएको छ। तीमध्ये दुई जना सुरुमा प्रवेशद्वारतर्फ अघि बढेर केही बेर पछि हटेका र तेस्रो व्यक्तिलाई लिएर पुनः फर्किएको दृश्यमा कैद भएको छ।
आक्रमणको समयमा चर्चभित्र १५० देखि २ सय जना मानिसहरू उपस्थित थिए। बन्दुकधारीहरूले गोली चलाउन थालेपछि चर्चभित्र भागदौड मच्चिएको थियो। मानिसहरू ज्यान बचाउन झ्यालबाट भाग्ने र बेन्चमुनि लुक्ने प्रयास गरिरहेका थिए।
घटनाका प्रत्यक्षदर्शी खालिद अल-मदानतका अनुसार गोलीबारी करिब १५ मिनेटसम्म चलेको थियो। 'ज्यान बचाउन ठेलमठेल भयो, मानिसहरू भुइँमा ढल्किने कोसिस गरिरहेका थिए,' उनले भने, 'कसैले मृतकलाई अँगालो हालिरहेका थिए भने कसैले आफ्ना बालबच्चा समातेर भागिरहेका थिए।' आक्रमणकारीहरू गोली चलाउँदै पिकअप ट्रकमा चढेर भागेका थिए।
अर्का प्रत्यक्षदर्शीका अनुसार सुरुमा बिजुली सर्ट भएको जस्तो लागे पनि पछि भुइँमा मानिसहरू छटपटाइरहेको देखेपछि मात्रै गोलीप्रहार भएको थाहा भएको थियो।
उक्त गोलीबारीका क्रममा घाइते भएकाहरुको उपचार भइरहेको करकस्थित अस्पताल परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। राजा अब्दुल्लाह द्वितीय बिन अल हुसैनको सम्भावित भ्रमण र पीडित परिवारको आक्रोशलाई ध्यानमा राख्दै वरपरका सडकहरू बन्द गरिएका छन्।
मुस्लिम बाहुल्य मुलुक जोर्डनको अल-करक क्षेत्रमा उल्लेख्य सङ्ख्यामा इसाई समुदायको बसोबास छ। जोर्डनमा यस्ता हिंसात्मक घटनाहरू विरलै हुने गर्दछन्। यस घटनाको अन्तर्राष्ट्रियस्तरमा पनि भर्त्सना भइरहेको छ। लेबनानका राष्ट्रपति जोसेफ खलील औनले चर्चमा भएको यस आक्रमणलाई 'जघन्य आतंकवादी हमला' भन्दै धार्मिक र मानवीय मूल्यमान्यता विपरीतको कार्य भनेका छन्।