। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी कमिटीहरुले सामाजिक सञ्जाल अन्तर्गतका आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी पार्टीलाई गराउनुपर्ने भएको छ । यदि सामाजिक सञ्जालको पेज वा ग्रुप नबनाएको भए पनि बनाएर जानकारी गराउनुपर्ने भएको छ ।
पार्टीको प्रचार, प्रकाशन तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी, तथ्यमा आधारित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्य राखेको नेकपाले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा यो कुरा उल्लेख छ ।
अपानिको ७ नम्बर बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनबारे लेखिएको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ ।’
गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि असोज २५ गते नेकपाले अपानि जारी गरेको थियो । सोही केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णय अनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म नेकपाले देशभर जागरण अभियान सञ्चालन गर्दैछ ।
प्रचार तथा डिजिटल सञ्चार अभियानलाई प्रभावकारी बनाउने
दुई महिने जागरण अभियान ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ सञ्चालन गरिने अपानिमा उल्लेख छ ।
त्यस क्रममा प्रचार तथा डिजिटल सञ्चार अभियानलाई प्रभावकारी बनाउन पार्टीको प्रचार तथा सञ्चार प्रणालीलाई व्यवस्थित गरिने नेकपाले जनाएको छ ।
यसअन्तर्गत निम्न ६ काम गर्ने अपानिमा उल्लेख छ–
१. प्रत्येक तहले पार्टीको आधिकारिक डिजिटल सञ्चार माध्यमलाई व्यवस्थित गर्ने ।
२. अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्ने ।
३. सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिन तथा अन्य उपयुक्त माध्यमको प्रभावकारी उपयोग गर्ने ।
४. तथ्यहीन, भ्रमपूर्ण वा गलत सूचनाको तथ्यगत ढंगले खण्डन गर्ने ।
५. पार्टीका आधिकारिक सामग्रीलाई एकरूपता र विश्वसनीयताका साथ सम्प्रेषण गर्ने ।
६. पार्टी सदस्यलाई पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्याउने जिम्मेवारीबोध गराउने ।