मुख्य समाचार
पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता
पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता

: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्।

अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको अवशेष लागेर एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भएको थियो। सोही दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छुट्टै आक्रमणमा दुई जनाको मृत्यु र आठ जना घाइते भएका थिए। घाइतेमध्ये एक नेपाली नागरिक पनि परेका थिए। साथै गत ११ अक्टोबरमा रियाद किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छुट्टै आक्रमणमा परि २ नेपाली घाइते भएका थिए। साउदी अधिकारीहरूका अनुसार शैबाह घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका थिए। घटनामा घाइते भएका ३ जना नेपाली उपचारपछि काममा फर्किएका छन्।

साउदीमा कहाँ–कहाँ भए आक्रमण?

साउदी अरबमा अक्टोबर महिनामा विमानस्थल, तेल प्रशोधन पूर्वाधार र अन्य रणनीतिक क्षेत्रलाई लक्षित गरी आक्रमणका घटना तथा ड्रोन र क्षेप्यास्त्र अवरोधका रिपोर्ट सार्वजनिक भएका छन्। साउदी अधिकारीहरूका विवरण र अन्तर्राष्ट्रिय समाचारअनुसार, अक्टोबर ६–७: रियाद किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएका आक्रमणमा एक सुडानी नागरिकको मृत्यु र आठ जना घाइते भएको साउदी नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो। त्यसपछि पनि रियादमा अक्टोबर १०–११ मा आक्रमण भएता पनि आधिकारिक विवरण आउन बाँकी नै छ।

अक्टोबर ६ अब्बा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा मोरक्को र अल्जेरियाका दुई महिला नागरिकको मृत्यु भयो। साउदी अधिकारीका अनुसार २८ जना घाइते भए। घाइतेहरूमा साउदी नागरिकका साथै बंगलादेशी र फिलिपिनो नागरिक पनि थिए। दमाम किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टोबर ११ र २१ मा विमानस्थललाई लक्षित गरी आक्रमण भएको साउदी प्रेस एजेन्सीले जनाएको छ। अक्टोबर २१ को छुट्टै घटनामा एक साउदी नागरिक र एक भारतीय नागरिकको मृत्यु भयो भने आठ जना घाइते भए। घाइतेमध्ये एक नेपाली नागरिक पनि थिए।

अक्टोबर २१ मा शैबाह अरामको तेल क्षेत्र, पूर्वी प्रान्त तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो। त्यसबाट खसेको अवशेषका कारण एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भयो। एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भए।

अक्टोबर ६ मा जाजान विमानस्थल तथा दक्षिणी क्षेत्र जिजान विमानस्थललाई लक्षित गरी आक्रमण भएको थियो। त्यसैगरी अक्टोबर ६–७ मा खमिस मुशैत असिर क्षेत्र र राबिघस्थित तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो।

पछिल्ला दिनमा साउदी अरबका विभिन्न क्षेत्रमा ड्रोन तथा क्षेप्यास्त्रसम्बन्धी घटना सार्वजनिक भएका छन्। विशेषगरी शैबाह तेल क्षेत्र र दमाम, रियाद विमानस्थलमा भएका घटनाले विदेशी श्रमिकको सुरक्षा र महत्त्वपूर्ण पूर्वाधारको संरक्षणबारे प्रश्न उठाएका छन्। साउदीको हवाई प्रतिरक्षा प्रणालीले केही आक्रमणका प्रयास अवरोध गरेको विवरण सार्वजनिक भएको छ। यद्यपि सबै घटनामा कति क्षेप्यास्त्र वा ड्रोन प्रहार भए, कति अवरोध गरिए र समग्रमा कति मानिस प्रभावित भए भन्नेबारे एउटै आधिकारिक विवरण उपलब्ध भएको छैन।

साउदीमा नेपालीहरू आत्तिनु होइन, सतर्क रहनु आवश्यक

साउदी अरबका विभिन्न क्षेत्रमा भएका आक्रमण र ड्रोनसम्बन्धी घटनाले यहाँ कार्यरत नेपाली श्रमिकमा चिन्ता बढाउनु स्वाभाविक हो। नेपाली नागरिकको ज्यान गएको र घाइते भएको घटनाले सबैलाई दुःखी बनाएको छ। तर अहिले नै सबै नेपालीले आत्तिएर देश छाड्नुपर्ने अवस्था छ भन्ने निष्कर्ष निकाल्ने उचित समय भने होइन। तसर्थ यस्तो संवेदनशील समयमा अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरेर साउदी सरकार र नेपाली दूतावासका सुरक्षा निर्देशन पालना गर्ने, जोखिमयुक्त क्षेत्रबाट टाढा रहने, उडानसम्बन्धी जानकारी सम्बन्धित एयरलाइन्सबाट पुष्टि गरेर मात्र यात्रा तय गर्ने, साथै सतर्कता अपनाउने, एकअर्कालाई सहयोग गर्ने र सुरक्षित रहने समय रहेको छ।

आपत्कालीन सूचना जारी भएमा स्थानीय अधिकारीको निर्देशन पालना गर्नु आवश्यक छ। सम्बन्धित रोजगारदाता कम्पनीले पनि श्रमिकलाई सुरक्षा प्रक्रिया, सुरक्षित स्थान र आपत्कालीन सम्पर्कबारे स्पष्ट जानकारी गराएका छन्।

उडान रद्द हुँदा घर फर्कने नेपालीको पीडा

साउदी अरबको सुरक्षा अवस्थाका कारण नेपाल एयरलाइन्सको काठमाडौँ–दमाम र दमाम–काठमाडौँ उडान (RA 241/242) अक्टोबर २४ का लागि रद्द भएको छ। हिमालय एयरलाइन्सले पनि काठमाडौँ–दमाम र दमाम–काठमाडौँका अक्टोबर २५ र २६ का उडान रद्द गरेको जनाएको छ भने अन्य एयरलाइन्सले अवस्थालाई मध्यनजर गर्दै आफ्ना उडानबारे सञ्जाल र वेबसाइटमा जानकारी दिएका छन्।

विदेशमा काम गर्ने धेरै नेपालीले महिनौँअघि बिदा मिलाएर टिकट काटेका हुन्छन्। घरमा परिवारले आगमनको प्रतीक्षा गरिरहेको हुन्छ। तर अन्तिम समयमा उडान रद्द हुँदा उनीहरूको पारिवारिक योजना प्रभावित हुन्छ। कतिपय अवस्थामा कम्पनीमा बिदा थप्नुपर्ने र टिकट पुनः बुकिङका लागि अतिरिक्त खर्च गर्नुपर्ने समस्या पनि आउन सक्छ। साथै उडान रद्द हुँदा टिकट काटेर घर फर्कने तयारीमा रहेका नेपाली श्रमिकहरू अन्योलमा परेका छन्। लामो समयपछि परिवारसँग भेट्ने आशा बोकेका यात्रुको योजना, खर्च र भावनामा गहिरो असर परेको छ। सुरक्षा पहिलो प्राथमिकता हो, तर घर फर्कने नेपालीको पीडा पनि सम्बन्धित निकायले बुझ्नुपर्छ। प्रभावित यात्रुलाई समयमै सूचना, सहज पुनःबुकिङ र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित एयरलाइन्स तथा निकायको थप ध्यान जाओस्।

दूतावाससँग स्पष्ट सूचना र सहजीकरणको अपेक्षा

साउदीमा नेपालीको मृत्यु तथा घाइते भएको घटनामा रियादस्थित नेपाली दूतावासको भूमिका महत्त्वपूर्ण मानिन्छ। मृतकको परिचय पुष्टि गर्ने, परिवारलाई जानकारी दिने, शव नेपाल पठाउने प्रक्रिया सहजीकरण गर्ने र घाइते नेपालीको अवस्थाबारे सम्बन्धित परिवारलाई जानकारी उपलब्ध गराउने काम प्राथमिकतामा परेको हुन्छ। त्यसैगरी, उडान रद्द भएर समस्यामा परेका नेपाली यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनी र अन्य निकायसँग सम्पर्क गर्न सहयोग पुर्‍याउनु आवश्यक रहेको छ। कुन उडान रद्द भएको हो, पुनः बुकिङ कसरी गर्ने र आकस्मिक अवस्थामा कहाँ सम्पर्क गर्ने भन्नेबारे अहिलेको अवस्थालाई मध्यनजर गर्नुपर्ने देखिन्छ।

नेपाली समुदायका संघसंस्था र सामाजिक अगुवाले पनि आधिकारिक सूचना साझा गर्ने, समस्यामा परेका यात्रुलाई उचित निकायसम्म पुर्‍याउने र आवश्यक सहयोगका लागि समन्वय गर्ने भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ। साउदीको नियम कानुनलाई मध्यनजर गर्दै कामहरू गरेता पनि प्राप्त समाचार सार्वजनिक गर्न नमिल्ने अवस्थामा आन्तरिक रूपमा सूचना दिएमा थप नेपालीलाई सहयोग र भरोसा हुने अपेक्षा गरिन्छ।

आगामी दिनमा साउदी अरबको सुरक्षा अवस्था क्षेत्रीय द्वन्द्वको विकास र सम्बन्धित अधिकारीहरूको सुरक्षा व्यवस्थामा निर्भर रहनेछ। अहिले नै अवस्था थप बिग्रन्छ वा पूर्ण रूपमा सामान्य हुन्छ भनेर निश्चित भविष्यवाणी गर्न सकिँदैन। नेपाली श्रमिकले आधिकारिक सुरक्षा निर्देशन पालना गर्दै आफ्नो कार्यस्थल र बसोबास क्षेत्रमा जारी सूचनाप्रति सचेत रहनु आवश्यक छ। नेपाल सरकारले पनि साउदीका सम्बन्धित निकायसँग समन्वय गर्दै नेपालीको सुरक्षा र प्रभावित यात्रुको सहजीकरणमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम