: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
धनुषाको उत्तरी क्षेत्र गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर बस्ने ३५ वर्षीय उमेश यादवले शनिबार साँझ माइती आएकी ३० वर्षीया श्रीमती रिना यादव र सँगै सुतेका ४ वर्षीय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रहार गरेका हुन्। धारिलो हतियार प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्मा अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार भई मृत अवस्थामा रहेको फेला पारेको थियो। ४ वर्षीय बालकको दाहिने तिघ्रामा गहिरो चोट लागेको छ। उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।
यता, प्रहरीले घटनास्थलबाट वारदातमा प्रयोग भएको चक्कु बरामद गरेको छ। घटनापछि फरार रहेका व्यक्तिको खोजी गर्ने क्रममा घटनास्थलबाट अन्दाजी १ किलोमिटर पश्चिम सिर्सिया जाने बाटो छेउमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
वारदातपश्चात् फरार रहेका व्यक्तिको प्रहरीले राति नै खोजी गर्दा भेटिएको थिएन। पछि बिहान आँपको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिएका छन्।