: यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
हुथी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्।
हुथी समूहका अनुसार यान्बुस्थित साउदी आरामकोको संरचना, राबिघमा रहेको तेल प्रशोधन केन्द्र र पूर्व-पश्चिम तेल पाइपलाइनका पम्पिङ स्टेसनहरू, रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुशैतस्थित सैन्य हवाई अखडा निशाना बनाइएकाे छ ।
हुथी विद्रोहीहरूका यी दाबीहरूबारे साउदी सरकारले प्रत्यक्ष रूपमा सबै क्षतिबारे पुष्टि नगरे पनि प्रतिकारका क्रममा आकाशमै मिसाइलहरू खसालिएको जनाएको छ।
यसैबीच, साउदी अरबको रक्षा मन्त्रालय तथा नागरिक सुरक्षा निकायका अनुसार हुथी समूहले प्रहार गरेका दुई ब्यालेस्टिक मिसाइललाई साउदी रक्षा प्रणालीले बीचमै विफल पारेको थियो। खसालिएका मिसाइलका अवशेषहरू मक्काको 'वादी अल-मुघमास' क्षेत्रका साथै जेद्दा, ताइफ र राबिघका विभिन्न स्थानहरूमा खसेका छन्।