: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए ।
निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन् । उनले प्रहरीमाथि पनि हिंसात्मक आक्रमण भएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
आल्प्स–म्यारिटाइम क्षेत्रका प्रिफेक्टका अनुसार प्रदर्शनकारीहरू तितरबितर हुने क्रममा अतिदक्षिणपन्थी र अतिवामपन्थी समूहका व्यक्तिबीच झडप भएको थियो । घटनामा घाइते भएका पाँच जनामध्ये तीन जना प्रहरी अधिकारी रहेका छन् ।
प्रशासनले निसमा सबै प्रकारका प्रदर्शनमा प्रतिबन्ध लगाए पनि दुई हजारभन्दा बढी मानिस भेला भएका थिए ।
फ्रान्सभर सरकारविरोधी प्रदर्शन भइरहेका बेला निसमा भएको घटनाले सुरक्षा चुनौती थपिएको छ ।