: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो ।
आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त समूहले संसद्का २५० मध्ये १३५ देखि १४० सिट जित्ने अनुमान गरिएको छ भने उनको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले करिब १०५ सिट प्राप्त गर्नेछ।
निर्वाचनमा विद्यार्थी आन्दोलनको सफलतालाई सर्बियाको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। भुचिच र उनको दलले करिब १४ वर्षदेखि देशको राजनीतिमा प्रभाव जमाउँदै आएका थिए।
सन् २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट छानो खस्दा १६ जनाको मृत्यु भएपछि सरकारविरुद्ध विद्यार्थी आन्दोलन चर्किएको थियो। आन्दोलनकारीले उक्त घटनालाई भ्रष्टाचार, नातावाद र निर्माण कार्यमा भएको अनियमिततासँग जोड्दै सरकारको जवाफदेहिताको माग गरेका थिए।
विद्यार्थीहरूले नेतृत्व गरेको आन्दोलनले परम्परागत राजनीतिक दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गरेको थियो। उनीहरूले देशको अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रको पुनःस्थापनालाई प्रमुख मुद्दा बनाएका थिए।
निर्वाचनपछि राजधानी बेलग्रेडसहित विभिन्न सहरमा विद्यार्थी समर्थकहरू सडकमा निस्किएर खुसीयाली मनाएका छन्।
यद्यपि, निर्वाचनका क्रममा मतदातामाथि दबाब, मत खरिदको प्रयास र अन्य अनियमितता भएको निर्वाचन पर्यवेक्षकहरूले बताएका छन्। युरोपेली संघ (ईयू) ले पनि निर्वाचन प्रक्रियालाई नजिकबाट नियालिरहेको थियो।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन पाएका भुचिचले भने आफ्नो दलको हारमा स्वतन्त्र सञ्चारमाध्यम र केही युरोपेली देशको कथित हस्तक्षेपलाई दोष दिएका छन्।