: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् ।
भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई आफ्नो नेता भन्दै उनी भेनेजुएलाको भूमिमा फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।
माचाडो गत वर्ष नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वे गएपछि स्वदेशबाहिर रहेकी थिइन्। सन् २०२३ मा विपक्षी दलको प्राथमिक निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी माचाडोलाई तत्कालीन राष्ट्रपति निकोलस मादुरोको सरकारले चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । सरकारले उनीमाथि ठगी र कर उल्लङ्घनको आरोप लगाएको थियो । माचाडोले भने ती आरोप राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएकी छन् ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा माचाडोको समर्थनमा एडमुन्डो गोन्जालेज मादुरोविरुद्ध उम्मेदवार बनेका थिए । सरकारी निर्वाचन निकायले मादुरो विजयी भएको घोषणा गरे पनि विस्तृत मतपरिणाम सार्वजनिक नगरेपछि विपक्षीले त्यसको विरोध गरेको थियो । विपक्षीले मतगणनाका विवरण सार्वजनिक गर्दै गोन्जालेज विजयी भएको दाबी गरेको थियो ।
यसै वर्ष जनवरीमा अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिएपछि उनको उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम नेताका रूपमा समर्थन गरेको विवरण समाचारमा उल्लेख छ । रोड्रिगेजले पछि अमेरिकासँग तेलसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
माचाडो आइतबार भेनेजुएलाको लारा राज्यस्थित एक चर्चमा प्रार्थनामा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ । त्यस क्रममा समर्थकहरूले उनलाई अँगालो हाल्दै स्वागत गरेका थिए ।
गोन्जालेजले आफू पनि चाँडै भेनेजुएला पुगेर देशलाई स्वतन्त्रतातर्फ अघि बढाउने प्रक्रियामा सहभागी हुने बताएका छन् । माचाडोले भने अबको राजनीतिक योजना सार्वजनिक गरिसकेकी छैनन् । तर, निर्वाचन भएमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने इच्छा उनले यसअघि व्यक्त गरेकी थिइन् ।
माचाडोका प्रवक्ता डेभिड स्मोलान्स्कीले उनको स्वदेश फिर्तीलाई लोकतान्त्रिक संक्रमण र निकट भविष्यमा स्वतन्त्र, निष्पक्ष तथा प्रमाणित गर्न सकिने राष्ट्रपतीय निर्वाचनतर्फको महत्त्वपूर्ण कदम भनेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो, अमेरिकी सरकार, कंग्रेस तथा सहयोगी सरकारहरूलाई निरन्तर समर्थनका लागि धन्यवादसमेत दिएका छन् ।