: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ।
सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ।
पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो अब्जेक्सन लेटर' (एनओसी) प्रदान गर्नका लागि केही असमझदारी भएको छ। यही कारण अनुबन्धित भएका खेलाडीहरूले एनपीएलमा खेल्ने नखेल्ने बारे अन्योलता छाएको हो।
पाकिस्तान क्रिकेट बोर्डले एनपीएल खेल्नका लागि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुन अनुमति नदिएको बताइएको छ।
यसै सम्बन्धमा आइतबार भएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले समन्वय भइरहेको र नेपाल आएका खेलाडीहरूलाई खेल्न समस्या नपर्ने गरी सहमति भइरहेको जानकारी दिएका थिए। ‘कुनै पनि खेलाडीले विदेशी लिगहरू खेल्न सम्बन्धित क्रिकेट बोर्डको अनुमति लिनुपर्छ। आइसीसीको औपचारिक लिस्ट ए टी-२० मान्यता एनपीएललाई निकै ढिलो प्राप्त भएका कारण यो समस्या आएको हुनसक्छ,' पारसले पत्रकारको उत्तर दिने क्रममा भने।
यसै सम्बन्धमा पारसले आइसकेका खेलाडीहरूलाई खेल्न सहज वातावरण बनाउने प्रयास भइरहेको बताएका थिए। 'जति पनि खेलाडीहरू नेपाल आउनुभएको छ, उहाँहरूले नो अब्जेक्सन लेटर लिएरै आउनुभएको छ। यो समस्या समाधान गर्नतर्फ हामी लागिरहेका छौं, यो समाधान हुनुपर्छ,' उनले थपे।
उनले प्रश्नको उत्तर दिने क्रममा यदि कुनै पनि क्रिकेट बोर्डले रोकेको खण्डमा भने खेलाडीलाई जबरजस्ती खेलाउन नमिल्ने पनि स्पष्ट पारेका थिए।
क्रिकइन्फोका अनुसार यस विषयमा सम्बन्धित बोर्डबाट कुनै पनि खालको सार्वजनिक अभिव्यक्ति आएको छैन।
एनपीएल खेल्नका लागि पाकिस्तानी खेलाडीहरू साहिबजादा फरहान, हैदर अलि, हुनैन शाह, हुसेन तलात, स्टिकर अहमद हसन अली र उसामा मिर रहेका छन्। यी खेलाडीहरू हालः पाकिस्तानको राष्ट्रिय टोलीको जिम्मेवारीमा छैनन्।
यसै वर्ष पाकिस्तान क्रिकेट बोर्डले टेस्ट र सीमित ओभरका क्रिकेटका लागि छुट्टै-छुट्टै वर्गीकरण गर्ने गरी नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको थियो। उक्त संरचनामा 'फर्म्याट ट्रयाक डी' पनि समावेश गरिएको थियो। जसमा खेलाडीहरुलाई विशेषज्ञका रूपमा वर्गीकरण गर्ने अवधारणा अघि सारिएको थियो।
सैद्धान्तिकरूपमा उक्त व्यवस्थाले अन्तर्राष्ट्रिय खेलकुद जिम्मेवारीसँग मिति नजुध्ने अवस्थामा टी-२० लिगमा सहभागी हुने स्वतन्त्रता दिने अपेक्षा गरिएको थियो। तर, हालसम्म पाकिस्तान क्रिकेट बोर्डले कुन खेलाडी कुन ट्रयाकमा पर्ने भन्ने सार्वजनिक गरेको छैन।
यसै सम्बन्धमा पाकिस्तान क्रिकेट बोर्डले हरेक खेलाडीका लागि २५ हजार अमेरिकी डलर माग गरिएको विषय पनि क्रिकइन्फो को समाचारमा उल्लेख गरिएको छ। तर, यसबारे भने नेपाल क्रिकेट संघका सचिव पारस खड्काले कुनै पनि उत्तर दिएनन्।