: पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) को मौसम पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ। जीएफएसको पछिल्लो पूर्वानुमानले अर्को नयाँ चक्रवात विकसित हुने संकेत देखाएसँगै 'अर्नब' चक्रवातबाट नेपालमा पर्ने भनिएको जोखिम केही हदसम्म घटेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। यद्यपि, अन्य प्रमुख मौसम मोडेलहरूले भने तत्कालै अर्को चक्रवात बन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्।
मौसम विज्ञहरूका अनुसार मौसमी प्रणालीमा देखिएको यो तीव्र फेरबदल र दोधारका कारण यसको वास्तविक प्रभावबारे अहिले नै ठोस निष्कर्ष निकाल्न निकै चुनौतीपूर्ण बनेको छ। वर्तमान परिस्थितिअनुसार मुख्यतया दुईवटा सम्भावनाहरू औंल्याइएका छन् ।
'अर्को चक्रवात विकास भयो भने त्यसले अर्नबलाई कमजोर बनाउन सक्छ,' उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, 'यस्तो अवस्थामा नेपालमा भारी वर्षाको सम्भावना घट्नेछ, यद्यपि सोमबारसम्म हल्का वर्षा हुन सक्छ ।'
अर्को चक्रवात बनेन वा ढिलो गरी विकास भयो भने बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना कायमै रहने उनको भनाइ छ । अहिले अधिकांश अन्य मोडेलहरूले यही अवस्था देखाइरहेका उनले प्रस्ट पारेका छन् ।
'मौसमी प्रणालीको विकास र यसको प्रभावबारे सही पूर्वानुमान गर्न अहिले निकै चुनौतीपूर्ण देखिएको छ,' पोखरेल भन्छन् ।