: काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित सुनकोशी नदीमा फेला परेको थियो। राईको शव सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा फेला परेको हो ।
सनाखतपछि दुवै जनाको शव परिवारले घरतर्फ ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।
काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो कात्तिक १ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परे पनि मग्रातीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। दसैँ मनाउन घर फर्किएका यात्रु सवार सुमो दुर्घटनामा परेको हो ।