: सशस्त्र प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब ३ लाख मूल्य भन्दा बढीको बारुदजन्य पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापा तथा मातहतका कार्यालयहरूले सीमा क्षेत्रका विभिन्न नाका र चेकपोइन्टमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा बरामद गरिएको ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका आज नष्ट गरेको हो। नेपालमा प्रतिबन्धित पटाकाहरू नेपालतर्फ ल्याउँदै गरेको तथा विभिन्न स्थानमा लुकाई छिपाइ राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका पटाकाहरू स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्र भलाद्मीको रोहवरमा नष्ट गरिएको हो।
पटाका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध आयात, चोरी पैठारी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न मातहतका कार्यालयलाई थप सतर्कताका साथ परिचालन गरिएको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्रिने पटाका लगायत अवैध सामान बरामद गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन प्रभावकारी बनाइएको उनको भनाइ छ।