: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई प्राप्त जिम्मेवारी नबिराई र नडराई पूरा गर्ने बताएका छन्।
स्याङ्जा आउने क्रममा सोमबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू कर्म गर्नका लागि आएको र सधैं सत्कर्म गर्ने बताएका हुन्। ‘चमत्कार नै गर्छु भनेको छैन। कर्म गर्न आएको हुँ। कर्म गर्छु,’उनले भने। थापाले नेता तथा कार्यकर्ताको आस्था र विश्वासले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
सभापतिमा निर्वाचित भएपछिको पहिलो जिल्ला भ्रमणका रूपमा स्याङ्जा आएर मनकामना मन्दिरको आशीर्वाद लिने अवसर पाएको उनले बताए। नेपाली कांग्रेसको उर्वरभूमि स्याङ्जाका धेरै परिवारले देशका निम्ति जीवन र जवानी सुम्पिएको जनाउँदै सभापति थापाले अग्रज नेता र तिनका परिवारको स्मरण गरे। सभापति थापाले भने, ‘कांग्रेस चार पुस्ताको पार्टी हो। सबैलाई समेटेर अघि बढ्नेछु। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एउटाको जित र अर्काको हार अवश्य हुन्छ। जित्नेले हस्तिनापुर प्राप्त गर्ने र हार्नेले सर्वस्व गुमाउने होइन। इच्छा र चाहना हुनेलाई काम र जिम्मेवारी दिइनेछ।’
सबैको राय र सल्लाह बमोजिम जिल्ला अधिवेशनको तिथि–मिति तोकिने समेत थापाको भनाइ छ। ‘नयाँ ढङ्गले पार्टी चल्छ। म माथिबाट सुरुवात गर्छु। यसमा जिल्ला र प्रदेशका साथीहरूले साथ र सहयोग गर्नुपर्नेछ, ‘उनले थपे, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ। पुस–माघ महिनामै उम्मेदवार टुङ्गो लगाउनेछौँ। उम्मेदवार छनोटको मापदण्ड तयार पार्नेछौँ र डिजिटल प्रविधिको उपयोग गरी उपयुक्त उम्मेदवार छनोट गर्नेछौँ।’
क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई निरन्तरता दिइने जनाउँदै सबै कांग्रेसीहरूलाई एकढिक्का बनाएर अघि बढाउने उनले प्रतिबद्धता जनाए। कार्यक्रममा जिल्ला सभापति राजु थापाले सभापति थापालाई स्याङ्जामा स्वागत गर्दै जिल्ला अधिवेशनका क्रममा पराजित उम्मेदवारलाई समेट्ने गरी योजना बनाउन आग्रह गरे। स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमको सहजीकरण सचिव दामोदर लम्सालले गरेका थिए। सभापति थापाका लागि पुतलीबजार नगरपालिका–१ अभियानपथस्थित पार्टी मुख्यालय र वालिङ नगरपालिकामा पनि स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरिएको छ।