। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ ।
कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो ।
माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ।
माइक्रोसफ्टका प्रमुख जनशक्ति अधिकारी एमी कोलम्यानले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा कम्पनीबाहिर नयाँ अवसर खोज्ने विचारमा रहेका योग्य कर्मचारीलाई सहयोगसहित बाहिरिने विकल्प प्रदान गर्न कार्यक्रम ल्याइएको बताएकी छन् ।
रोयटर्सका अनुसार माइक्रोसफ्टका एक चौथाइभन्दा बढी कर्मचारीले यस कार्यक्रमअन्तर्गत स्वेच्छिक अवकाश रोज्न सक्ने अनुमान छ ।
रोयटर्ससँग कुरा गरेका स्रोतका अनुसार विन्डोज, कोपाइलट, एआई एक्सपेरियन्स, वित्त, मानव संसाधन, एक्सबक्स तथा विन्डोज प्लस डिभाइससँग सम्बन्धित विभागका कर्मचारी यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । यद्यपि, मार्केटिङ, कमर्सियल बिजनेस र सुरक्षा क्षेत्रका कर्मचारी भने यस कार्यक्रमबाट बाहिर राखिनेछन् ।
एआईमा ठूलो लगानी, खर्च व्यवस्थापनको दबाब
माइक्रोसफ्टले एआईसम्बन्धी पूर्वाधार विस्तार गर्न डेटा सेन्टर र चिपमा अर्बौं डलर लगानी गरिरहेको छ । यसका लागि आवश्यक पर्ने ठूलो पुँजीगत खर्चले लगानीकर्तामाझ कम्पनीले भविष्यमा कति प्रतिफल प्राप्त गर्न सक्छ भन्ने प्रश्नसमेत उठाएको छ ।
कम्पनीले सन् २०२६ को क्यालेन्डर वर्षमा पुँजीगत खर्चका लागि १७५ अर्ब डलर छुट्याउने प्रक्षेपण गरेको छ । एआई प्रविधिमा बढ्दो लगानीसँगै खर्च व्यवस्थापन गर्नु कम्पनीका लागि प्रमुख चुनौती बनेको छ ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार सन् २०२६ जुन ३० सम्म माइक्रोसफ्टमा विश्वभर २ लाख २३ हजार पूर्णकालीन कर्मचारी कार्यरत थिए । यस आधारमा प्रस्तावित ६० हजार कर्मचारीको संख्या कम्पनीको कुल कार्यबलको करिब २७ प्रतिशत हुन्छ ।
माइक्रोसफ्टले यसअघि पनि स्वेच्छिक अवकाशको कार्यक्रम ल्याएको थियो । चालु वर्षको सुरुवातमा कम्पनीले अमेरिकामा कार्यरत करिब ९ हजार कर्मचारी अर्थात् त्यहाँको कार्यबलको झन्डै ७ प्रतिशतलाई यस्तो प्रस्ताव गरेको थियो ।
यसैगरी, गत जुलाईमा कम्पनीले आफ्नो एक्सबक्स गेमिङ व्यवसायको पुनर्संरचना गर्दै विश्वभर करिब ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । त्यतिबेला कम्पनीले आफ्नो गेमिङ व्यवसायमा प्रतिफल बढाउने उद्देश्यले पाँच वटासम्म स्टुडियोबाट अलग हुने योजना पनि सार्वजनिक गरेको थियो ।
माइक्रोसफ्टले पहिलो त्रैमासिक वित्तीय नतिजा बुधबार बजार बन्द भएपछि सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको सेयर मूल्य यस वर्ष करिब १० प्रतिशत बढेको थियो भने सोमबार कारोबारका क्रममा करिब १ प्रतिशतले वृद्धि भएको रोयटर्सले जनाएको छ ।