। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल लिग आयोजना गर्ने अधिकार आफूसँग मात्र सुरक्षित रहेको जिकिर गरिएको छ। ‘कुनै पनि अन्य लिग गठनको सम्बन्धमा एनएसएलले स्वीकृति वा अधिकार प्रदान गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ।
नेपाली फुटबलप्रतिको आफ्नो दीर्घकालीन दृष्टिकोणमा आफूहरू प्रतिबद्ध रहेको एनएसएलले जनाएको छ। फुटबलको विकासका लागि आफूसँग भएका विद्यमान अधिकार, जिम्मेवारी र प्रतिबद्धतामा अडिग रहेको पनि उसले स्पष्ट पारेको छ।
खेलाडी र समर्थकलाई केन्द्रमा राखेर गरिने आपसी सहयोग, सम्मान र साझा प्रतिबद्धताबाट मात्र नेपाली फुटबलको भविष्य राम्रो हुने एनएसएलको निष्कर्ष छ। आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरू सक्रिय रूपमा लागिरहेको र छिट्टै यसको विस्तृत विवरण सार्वजनिक गर्ने प्रबन्ध निर्देशक कार्कीले बताएका छन्।