: बुढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन। बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बुढीगण्डकी अहिले पनि कालै रङमा देखिने गरेको हो।
बर्खाका दुई महिनाबाहेक प्रायः सधैं सङ्लो र नीलो देखिने बुढीगण्डकी लामो समयदेखि कालै रङमा बगेपछि देख्नेहरू अचम्मित छन्। ‘खै किन हो, अहिलेसम्म पनि बुढीगण्डकीमा कालो पानी बग्छ,’ आरुघाट गाउँपालिका–३ सोतीका अजय गुरुङ भन्छन्, ‘त्यस दिनमा बाढीले ढाकेको वल्लो किनार, पल्लो किनारको धेरै फराकिलो क्षेत्र अहिले पनि कालै लेदो देखिन्छ। किनारमात्र होइन, पानी पनि कालो बग्ने गरेको छ।’ नदी आसपासको कालोले सधैं त्यही दिनको झल्को लाग्ने गरेको उनले बताए।
सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्वाखाप्के (होजाङ)बाट गत असोज २५ गते झरेको हिमपहिरोपछि बुढीगण्डकीमा भीषण बाढी आएको थियो। उङ्गिलुङ थुनिएर एक्कासि आएको बाढीले स्यारखोला पनि बेलाबेला थुनिने र खोलिने भएको थियो।
हिउँपहिरो खसेको उङ्गिलुङखोलामा अझै पनि हिउँ बग्ने गरेको त्यस आसपासका बासिन्दा बताउँछन्। स्यारखोलाको सीमानासम्म हिउँ बग्ने र बेलाबेला रङ फेर्ने गरेपछि मुहान आसपासका बासिन्दा सशंकित र त्रसित पनि हुने गरेका छन्। ‘पहिरो खसेको उङ्गिलुङमा त अहिले पनि हिउँ हटिसकेको छैन,’ स्थानीय गोपाल लामा भन्छन्, ‘स्यारखोलासम्म पनि हिउँ बगिरहेको देखिन्छ। स्यार खोलाले घरीघरी रङ फेर्छ।’
बुढीगण्डकीमा अपूर्व बाढी आएपछि चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकाका बासिन्दा त्रसित छन्। नदीले आफ्नो बास्तविक रङ र स्वरूप नलिँदा स्थानीयवासी अझै त्रासमा छन्। ‘बर्खा सकियो भन्नु पनि नपर्ने, हिउँद लाग्यो भन्नु पनि नपर्ने, सधैँ बाढी आउन सक्ने रहेछ,’ चुमनुब्री गाउँपालिका–३ जगतका विशाल घलेले भने, ‘पानी परेको छैन भन्नु पनि नपर्ने रहेछ। जतिखेर पनि बाढी आउने रहेछ। हामी त सधैं त्रासैत्रासमा छौं।’
बुढीगण्डकी पहिलेजस्तै साविकको रङमा आइदिए स्थानीयबासी खुसी हुने उनको भनाइ छ। ‘नदीको रङ त हरियो, नीलो हो नि! अब आफ्नै रंगमा नआएसम्म हाम्रो डर रहिरहनेछ,’ उनले भने, ‘घरीघरी आँखा बुढीगण्डकीतिरै जान्छ। अनि कालो देखेपछि त्यही दिनको बाढी सम्झेर झस्याङ–झस्याङ भइरहन्छौं। डर अझै सकिएको छैन।’
केही दिनअघि चुमनुब्री–१ सामागाउँ क्षेत्रमा पनि मनास्लु बेसक्याम्पबाट पहिरो झ¥यो। त्यसको केही समयपछि साम्दो गाउँभन्दा केही पर लार्केबाहुमा पनि पहिरो खस्यो। जताततै हिमाली क्षेत्रबाट पहिरो खस्न थालेपछि हिमाली सभ्यता बचाउन माग गर्दै चुमनुब्री–१ सामागाउँका युवाहरूले मनास्लु बेसक्याम्पमा आमरण अनशन बसेका थिए।
तीन दिनसम्म लगातार आमरण अनशन बसे पनि केन्द्र सरकारले सुनुवाइ गरेन। स्वास्थ्यमा खराबी आएपछि तथा गण्डकी प्रदेश सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग सम्बोधनको पहल गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन कार्यक्रम फिर्ता लिएका थिए।
‘जताततै हिमताल बढ्न थालेका छन्। हिउँ पहिरो झर्न थालेका छन्। अब त हिमाली सभ्यता बचाउन पनि मुस्किल भइसक्यो,’ सो अनशन कार्यक्रमका संयोजन दावा नुर्बु लामाले भने, ‘हिमाली सभ्यता बचाउन स्थानीय तह, प्रदेश र केन्द्र सरकारले धेरै चासो दिनु आवश्यक छ।’ अन्यथा हिमाली क्षेत्रमा ठूलो विपद् निम्तिन सक्ने उनको भनाइ छ। ‘विपद्पछि उद्धार र राहतको कार्यक्रम गर्नुभन्दा विपद् आउनै नदिनु बुद्धिमानी हो। तर, त्यसतर्फ ध्यान दिएको पाइएन,’ उनले भने।
चुमनुब्री–६ को हिउँ पहिरो झरेको उङ्गिलुङ खोलामा अझै पनि अस्थिर अवस्थाको हिउँ बाँकी रहेकाले झरिरहेको हुनसक्ने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका विनोद पराजुलीले जानकारी दिए। साथै बुढीगण्डकी, स्यार तथा उङ्गिलुङ खोलाको मुहानतिर कालोमाटोको सतह धेरै भएकाले कालो पानी बगेको हुनसक्ने उनको भनाइ छ।
अमेरिकी एक अनुसन्धानसम्बन्धी संस्थाका विज्ञहरूले बुढीगण्डकी बाढीको विशेष अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अधिकृत धर्म उप्रेतीले जानकारी दिए। सो प्रतिवेदन सार्वजनिक भएपछि सो घटनाको विस्तृत जानकारी बाहिर आउने उनको भनाइ छ।
गत असोज २५ गते राति हिउँपहिरो झरेर थुनिएको उङ्गिलुङ खोला एक्कासि खोलिएपछि स्यार खोलामा बिहान ४ बजे आएको बाढीले बुढीगण्डकीमा भीषण बाढी आउँदा ६ जना बेपत्ता भए। जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्राप्त विवरणअनुसार बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको १ सय ८ वटा घर–गोठ बगे। यस्तै, ६ वटा झोलुङ्गे पुल, दुईवटा मोटरेबल पुल, एउटा बेलिब्रिज, यारु र सर्दीमा रहेका दुईवटा क्यान्टिलिभर पुल बाढीले बगाएको प्रशासन कार्यालयको विवरणमा उल्लेख छ।
जताततै बाटो र पुल बगेपछि स्थानीयहरू आवतजावत ठप्प बन्यो। जनजीवन त्रासमा रहे। घटनाको १६ दिन बित्दा प्रभावित क्षेत्रका बासिन्दाहरू बाढीले दिएको घाउ निको पार्नमा चाडपर्व नभनी रातोदिन खटिएका छन्। स्थानीयबासी र गाउँपालिकाको सक्रियतामा बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माण तथा बाटो मर्मतको काम भइरहेको छ। विगत १५ दिनदेखि बन्द अवस्थामा रहेको चुम उपत्यका जाने बाटो आइतबारदेखि अस्थायी रूपमा खुलेको छ।
स्यार खोलामा ४ वटा काठे पुल निर्माण गरेर चुम उपत्यकामा मानिस तथा खच्चड आवतजावत गर्न सक्ने बनाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। अहिले जनजीवन केही सामान्य भए पनि बुढीगण्डकीको रङले स्थानीय सशंकित र त्रसित छन्।