: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ ।
नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले बहामास, गुयाना तथा एन्टिगुवा र बारबुडाको भ्रमण गर्ने कार्यक्रम छ ।
बकिङ्घम दरबारका अनुसार राजा चार्ल्सले विगतमा दास व्यापारका कारण भोग्नुपरेको पीडालाई स्वीकार गर्नेछन् । युवाहरूसँगको पहिलो कार्यक्रममा उनले विगतको ठूलो पीडालाई स्वीकार गर्नु उचित हुने सन्देश दिने अपेक्षा गरिएको छ ।
राजा चार्ल्सले वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीबारे पनि सम्बोधन गर्नेछन् । समुद्री सतह बढ्दा जोखिममा रहेका क्यारिबियनका टापु राष्ट्रहरूको अवस्थालाई उनले प्राथमिकतामा राख्ने बताइएको छ ।
भ्रमणका क्रममा दास व्यापारको इतिहाससँग सम्बन्धित स्मारक तथा ऐतिहासिक स्थलहरूको अवलोकन पनि गरिनेछ । दरबारका अनुसार भ्रमणको उद्देश्य विगतको इतिहासलाई स्मरण गर्नुका साथै क्षेत्रीय साझेदारी र भावी पुस्ताका अवसरमा जोड दिनु हो ।
बहामासपछि राजा चार्ल्स गुयानातर्फ जानेछन्, जहाँ वातावरण र जैविक विविधतासम्बन्धी विषयमा केन्द्रित कार्यक्रम हुनेछन् । त्यसपछि उनी एन्टिगुवा र बारबुडा पुग्नेछन् । त्यहाँ रानी क्यामिलासँगै राष्ट्रमण्डलका ५६ सदस्य राष्ट्रका नेताहरू सहभागी हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भाग लिने कार्यक्रम छ ।