: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ ।
युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा युद्धविराम सम्भव भएको ह्वाइट हाउसले जनाएको छ । युद्धविरामअन्तर्गत मानवीय सहायता पुर्याउने र शुक्रबार सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने योजना छ ।
युक्रेनको खेर्सन क्षेत्रस्थित ओलेश्की सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि कब्जामा परेको थियो। युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको यस सहरमा अहिले करिब एक हजार ७०० जना बसिरहेको अनुमान छ। आसपासका क्षेत्रसमेत जोड्दा त्यहाँ करिब ६ हजार मानिस, जसमा २०० बालबालिका छन्, अझै फसेको किभको आकलन छ ।
सहरमा तीन वर्षदेखि विद्युत्, ग्यास र खानेपानीको नियमित आपूर्ति छैन। पसलहरू बन्द छन् भने खाद्यान्न र औषधि पुर्याउनसमेत कठिनाइ भइरहेको छ। सहरबाट बाहिरिने बाटोमा बारुदी सुरुङ बिछ्याइएको र ड्रोन आक्रमणको जोखिम रहेकाले नागरिकको उद्धार पनि जोखिमपूर्ण बनेको छ।
स्थानीय बासिन्दाले चरम भोकमरी र असुरक्षाको सामना गरिरहेको बताएका छन्। एक महिलाले बारुदी सुरुङमा परेर घाइते भएपछि अस्पतालमा दुईपटक शल्यक्रिया गर्नुपरेको बताएकी छन्। सहरमा आंशिक रूपमा सञ्चालनमा रहेको एउटा अस्पतालले साताको केही दिन मात्रै गम्भीर बिरामीको उपचार गर्ने गरेको विवरण सार्वजनिक भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बारुदी सुरुङ हटाएका बाटोबाट बाहिरिने नागरिकलाई रुसतर्फ लैजाने जोखिम रहेको बताएका छन्। उनले फसेका नागरिकलाई सम्भव भएसम्म युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा पुग्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।
रुसको रक्षा मन्त्रालयले मानवीय अभियानको तयारीस्वरूप मुख्य पहुँचमार्गमा रहेका विस्फोटक पदार्थ र विस्फोट गराउन मिल्ने पासो हटाउने काम भइरहेको जनाएको छ। युक्रेनी अधिकारीहरूले भने उद्धारका क्रममा गोलीबारी पुनः सुरु हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
युद्धविराम नोभेम्बर १ को स्थानीय समयअनुसार राति ११ बजेर ५९ मिनेटसम्म कायम रहने युक्रेनी सांसद डाभिड अराखामियाले बताएका छन्। युक्रेनका मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्स उद्धार अभियानको समन्वयका लागि प्रभावित क्षेत्रमा पुगेका छन्।
यसैबीच, ओलेश्कीमा युद्धविरामको प्रयास भइरहे पनि अन्य क्षेत्रमा भने आक्रमण जारी छन्। सोमबार साँझ युक्रेनको राजधानी किभमा भएका आक्रमणमा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको विवरण छ। त्यस्तै, रुसको ब्रियान्स्कमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ।