। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ ।
फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महानगरपालिकाले महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवलाई एक पटकको कार्यक्रमका रूपमा मात्र नलिई निरन्तरता दिने योजना रहेको बताइन् ।
फेस्टिभलमार्फत काठमाडौंको सम्पदा र संस्कृतिको अभिलेखीकरण गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ ।
फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसँगै सांघाई फिल्म एकेडेमीको फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’ कुन्हालगायत अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुने भएका छन् ।
कात्तिक १३ देखि १५ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्म प्रदर्शनसँगै फिल्मसम्बन्धी अन्तरसंवाद, मास्टरक्लास, प्यानल छलफल र लघुचलचित्र प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिने भएको छ ।
महोत्सवले नेपाली फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय अनुभव र ज्ञानसँग जोड्नुका साथै काठमाडौंका मौलिक कथालाई फिल्मका माध्यमबाट अभिलेखीकरण गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
काठमाडौंले सन् २०२३ नोभेम्बरमा युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ को मान्यता प्राप्त गरेको थियो । त्यसपछि महानगरपालिकाले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता जनाएको थियो । अहिले आयोजना गर्न लागिएको महोत्सव सोही प्रतिबद्धतालाई कार्यान्वयन गर्ने कार्यक्रम भएको कार्यबहाक प्रमुख डंगोलले बताइन् ।
कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा भारतीय अभिनेत्री शबाना आजमीसँग ‘फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड’ विषयमा अन्तरसंवाद आयोजना हुनेछ । फिल्म क्षेत्रमा आजमीको अनुभव, फिल्म फेस्टिभलको भूमिका र उनको कलायात्रासँग सम्बन्धित विषयमा केन्द्रित रहने यो कार्यक्रम महोत्सवको प्रमुख आकर्षणमध्ये एक हुनेछ ।
सोही दिन भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’ कुन्हाले सिर्जनात्मक सहरको विकासमा फिल्म र फिल्म फेस्टिभलको भूमिकाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीसम्बन्धी परिचयात्मक प्रस्तुति दिनेछन् । यस कार्यक्रममार्फत सिर्जनात्मक सहरका रूपमा फिल्मको विकास, स्थानीय पहिचानको प्रवर्द्धन र फिल्म क्षेत्रको सम्भावनाबारे अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।
कात्तिक १५ गते नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले चलचित्र सौन्दर्यशास्त्र र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबारे मास्टरक्लास सञ्चालन गर्नेछन् । फिल्मको कलात्मक पक्ष, अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अभ्यास र विश्व सिनेमाको प्रवृत्तिबारे बुझ्न यो कार्यक्रम उपयोगी हुने आयोजकको विश्वास छ ।
यसका अतिरिक्त नेपाली फिल्म उद्योगको विगत, वर्तमान र भविष्यबारे पनि छलफल गरिनेछ । यी कार्यक्रमले नेपाली फिल्मकर्मी, विद्यार्थी र युवा निर्मातालाई अन्तर्राष्ट्रिय फिल्म क्षेत्रको अभ्यास बुझ्ने, अनुभवी व्यक्तित्वबाट सिक्ने र आफ्नो सिर्जनात्मक क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ ।
महोत्सवमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, फ्रान्स, दक्षिण कोरिया, सिंगापुरलगायत देशका फिल्म प्रदर्शन गरिनेछन् । अन्तर्राष्ट्रिय पानोरमाअन्तर्गत जय नेपाल सिनेमाघरमा विभिन्न देशका फिल्म देखाइने आयोजकले जनाएको छ ।
नेपाली फिल्म ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शन गरिने कार्यक्रम छ ।त्यसैगरी, जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएका लघुचलचित्र पनि प्रदर्शन गरिने छन् ।
महोत्सवको अर्को महत्वपूर्ण पक्ष ‘नेपाल पानोरामा’ हो । यसअन्तर्गत नेपाली छोटा फिल्म तथा लघुचलचित्र प्रदर्शन गरिनेछन् ।
महोत्सवकी आर्टिस्टिक डाइरेक्टर रम्यता लिम्बूका अनुसार खुला आह्वानमार्फत प्राप्त ७५ फिल्ममध्ये १० वटा फिल्म छनोट गरिएका छन् । छनोट भएका फिल्मका निर्मातालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
यस कार्यक्रमले छोटा फिल्म निर्माणमा सक्रिय युवा तथा स्वतन्त्र फिल्म निर्मातालाई आफ्नो काम प्रदर्शन गर्ने अवसर दिनुका साथै नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा सहयोग पुर्याउने आयोजकको अपेक्षा छ ।
महोत्सवअन्तर्गत युवालाई लक्षित गर्दै ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा युथ भिडिओ च्यालेन्ज पनि आयोजना गरिएको छ ।
यस प्रतियोगितामा प्राप्त ३५ भिडिओमध्ये ११ वटा छनोट भएका छन् । काठमाडौंको संस्कृति, सम्पदा र मौलिक पहिचानलाई युवा पुस्ताको दृष्टिकोणबाट प्रस्तुत गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
फिल्म तथा भिडिओका माध्यमबाट स्थानीय संस्कृति र सम्पदाबारे नयाँ पुस्ताको चासो बढाउने, सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने र स्थानीय कथालाई फराकिलो दर्शकवृत्तसम्म पुर्याउने प्रतियोगिताको उद्देश्य रहेको छ ।
महोत्सवकी क्युरेटर आयुषा श्रेष्ठका अनुसार कार्यक्रमको तयारी ६ महिनाभन्दा अघिदेखि सुरु गरिएको थियो । काठमाडौंको इतिहास, संस्कृति, वास्तुकला, परिकार र हस्तकलालाई फिल्मका माध्यमबाट प्रस्तुत गर्ने लक्ष्यसहित महोत्सवको कार्यक्रम तयार पारिएको उनले बताइन्।
महोत्सवका लागि सबै फिल्म प्रदर्शन निःशुल्क हुनेछन् । यद्यपि, प्रदर्शनमा सहभागी हुन दर्शकले निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ ।