: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ ।
अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट पाउँदा अरब पार्टीहरूले १९ सिट जित्ने प्रारम्भिक अनुमान छ ।
इजरायलको संसद् नेसेटमा सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ । तर, कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत हासिल गर्न नसकेपछि नयाँ सरकार गठन अन्य दलहरूको समर्थनमा निर्भर देखिएको छ ।
नेतान्याहुको लिकुड पार्टीले अरब समुदायका मतदान केन्द्रहरूमा घुस, धम्की, हिंसा, नक्कली कागजात र एकभन्दा बढी पटक मतदान गरिएको आरोप लगाउँदै अनुसन्धानको माग गरेको छ। यी आरोप स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् ।
जोइन्ट लिस्टका नेता अहमद तिबीले भने चुनावमा अनियमितता नभएको दाबी गर्दै अरब पार्टीहरूलाई प्राप्त मतको वैधतामाथि प्रश्न उठाएर मतदातालाई अवमूल्यन गर्न खोजिएको बताएका छन् ।
यसैबीच, विपक्षी गठबन्धनले अरब पार्टीहरूको समर्थन जुटाएर सरकार गठन गर्न सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । अन्तिम मतपरिणाम र सरकार गठनको समीकरण भने अझै स्पष्ट भइसकेको छैन ।