। जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । मोइनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए । हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे ।
७ रनमा ओपनर तृतराज दासलाई गुमाएको जनकपुरले ३७ रन जोड्दा मयन यादवलाई गुमाएको थियो । तृत ५ र मयन ९ रनमा आउट भएका थिए । त्यसपछि जनकपुरको ब्याटिङ मोइन र हसनले सम्हालेका थिए । बलिङमा काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । काठमाण्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।
ब्याटिङमा काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमाण्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाण्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमाण्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।
पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।