। आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभा सभामुख डीपी अर्यालबीच छलफल भएको छ ।
भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।
छलफल क्रममा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित नेपालजस्ता पर्वतीय तथा संवेदनशील मुलुकका मुद्दा अन्तर्राष्ट्रियस्तरमा प्रमुखतासाथ उठाउने विषयमा जोड दिइएको छ ।
साथै, हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने आर्थिक सहयोगलाई कसरी प्रभावकारी उपयोग गर्ने भन्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सांसदहरूको सहभागिता व्यवस्थित बनाउने विषयले पनि छलफलमा प्रवेश पाएको छ । सांसदहरूको राजनीतिक दलगत प्रतिनिधित्व, स्वखर्चमा सहभागी हुन चाहने सांसदका लागि आवश्यक प्रक्रिया र उनीहरूको सहभागिताको प्रतिबद्धता सम्बन्धी मापदण्ड तय गर्ने विषयमा मन्त्री चौधरी र सभामुख अर्यालबीच कुराकानी भएको छ ।
यसैगरी कोप–३१ अघि नै देशभित्र ‘राष्ट्रिय जलवायु शिखर सम्मेलन’ आयोजना गर्ने र सोही अवसरमा नेपालको पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ सार्वजनिक गर्ने तयारीमा सरकार जुटेको छ ।
कोप–३१ का लागि नेपालको आधिकारिक अडानपत्र निर्माण गरी सार्वजनिक गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको छ ।
विश्व सम्मेलन क्रममा नेपालको छुट्टै ‘पेभिलियन’ सञ्चालन गर्ने, जलवायु परिवर्तन तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित साइड इभेन्ट आयोजना गर्ने र नेपालले हाल गरिरहेका जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारीलाई थप तीव्रता दिने निष्कर्ष छलफलमा निकालिएको छ ।