: काभ्रेपलाञ्चोक प्रहरीले अवैध रूपमा काठमाडौं ल्याउँदै गरेको आतिसबाजी तथा पटाकासहित एक जनालाई पक्राउ गरेको छ। बुधबार धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरिएको डिएसपी रबिन बिष्टले जानकारी दिए।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००९ ख ९२२४ नम्बरको यात्रुवाहक ईभी हाइसलाई रोकी चेकजाँच क्रममा पटाका सहित पक्राउ गरिएको हो।
चेकजाँचका क्रममा उक्त हाइसमा सवार जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका–६ का १९ वर्षीय राहुल कुमार साहको साथमा रहेको पिङ्क कलरको सुटकेश तथा गाडीको डिक्कीमा राखिएका निलो, सेतो र पहेँलो रङका बोराहरूबाट विभिन्न प्रकारका आतिसबाजी तथा पटाका बरामद गरिएको डिएसपी बिष्टले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामग्रीमा CHORSHA CRACKERS लेखिएको २५ बन्डल, एक पेटीमा ५० प्याकेटका दरले जम्मा १ हजार २५० प्याकेट पटाका, High Speed Spinner Deluxe, The Classic Fire Works Industries Sivakasi लगायतका आतिसबाजी रहेका छन्। साथै SRI AYYAMMAL FIRE WORKS SIVAKASI का १५ थान, Crackling Sparklers ३६ प्याकेट तथा Rocket Bomb ९ प्याकेटमा १०–१० थानका दरले जम्मा ९० थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
साहलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।