: संयुक्त राष्ट्रसंघकोको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति हुने निर्धारित समय थप गरेको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अति कम विकसित राष्ट्रको सूचीबाट नोभेम्बर २०२६ मा हुने भनिएको नेपालको स्तरोन्नतिको निर्धारित समय तालिका ३ वर्ष अर्थात् नोभेम्बर २०२९ सम्म पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेबमोजिम राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको जानकारी दिए। यस निर्णयबाट नेपाललाई थप ३ वर्षको तयारी समय प्राप्त भएकाले एलडिसीको सूचीबाट नेपालको स्तरोन्नति सहज र दिगो हुने विश्वास गरिएको उनको भनाइ छ।
त्यस्तै, उनले आगामी ९ देखि २० नोभेम्बरसम्म टर्कीमा आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको उच्चस्तरीय सहभागिता हुने गरी अहिलेदेखि नै तयारी अगाडि बढाइएको जानकारी दिए। कोपमा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ’फ्रेमवर्क एग्रिमेन्ट अन कोअपरेसन अन क्लाइमेट चेन्ज’ मा हस्ताक्षर हुने गरी गृहकार्य भइरहेको उनले बताए। उनले सम्मेलनको साइडलाइनमा नेपाल र अन्य पर्वतीय मुलुकहरूको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय मुद्दाहरूबारे एक विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि उल्लेख गरे।
प्रवक्ता पौडेलले दुवै पक्षलाई अनुकूल हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यक तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय नभएको जानकारी दिए।